Wednesday, December 22, 2010

डुबि जाने जून

के गुन गाउँ खै वैली झर्ने फूलको ।
के भर भयो अब डुबि जाने जूनको ।

देख्दा क्षितिजमा आश जागि आउँछ
धर्तीलाई पर्खाएर आफू भागि जान्छ
झुक्याएर हिड्ने यो कस्तो खेल हो ?
आँखा सधैँ वर्षा यामको भेल भयो ।

बसेको छौ आकाशको जूनतारा सँगै
बाँचेको छु म तिमी आउने दिन गन्दै
भन्देऊ बादल भेट्यौ भने आकाशलाई
पठाकोथेँ खबर मैले पापी बतासलाई ।

कुरी रहेँ

तिमी आउने बाटो हेर्दै दोबाटोमा कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

जाने बेला भनेकीथ्यौ देउरालीमा तिमी बस्नू
झिसमिसेमा भागी आउछु त्यही मलाई पख्नू
रातदिन बाटो हेर्दै बाटो तिम्रो कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

आउँदा-आउँदै गोरेटोमा बाटो कतै भुलियो कि ?
खेल्दा–खेल्दै कुरा मनमा मनै फेरियो कि ?
अनेक तर्क गर्दै मनमा बाटो तिम्रो कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

मुटुभित्रै

मुटुभित्रै बसेकी छौ कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

कस्तो काँडा बिज्यो मनमा झिकूँ भन्दा झनै गड्छ
कस्तो माया रै’छ तिम्रो बिर्सू भन्दा झनै बढ्छ
ढुकढुकीमा छौ तिमी कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

हाँसो खुशी दिन्छु भन्यौ तर मलाई लुटी गयौ
जीवनभरि मलाई रुवाई आफू भने खुशी भयौ
आफैँ भन्दा प्यारो लाग्छ कसोगरी जाली भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

स्वर-तारा लक्षम
संगीत-नरहरि प्रेमी
एल्वम-मखमली चोली

गीत

सासै फेर्न गार्हो पारी किन दुख्छ छाति ???
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

कैले लाग्छ खाग बनाई मुटु जलाई दिउँ कि
हावासँगै उडाएर डाँडा कटाई दिउँ कि
न दिनमा हाँस्न सक्छु न त सुत्न राती
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

उडिरन्छ सधैँ किन ?? मन छैन थीरमा
हिड्दा-हिड्दै गोरेटोमा पुगेँ तारे भीरमा
राप बढ्दै मन भित्र किन दुख्छ छाती ?
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

Monday, September 13, 2010

कविता

बग्नुको अर्थ
समुन्द्रमा पुग्नु,
वाँच्नुको अर्थ मर्नु,
अब के फरक भयो
पानी म/हामीहरुमा ?
उस्तै–उस्तै
पानी जस्तै बगिरहेको छ जीवन
कुलुलु कुलुलुलुलुलुलुलुलुलुलुलुलुलुलु ,

फरक–
उकाली,
ओराली,
तेर्सो
हिडेर बग्छ जीवन
र ओरालो बगेर
बाँच्छ सधैँ पानी,

सगरमाथा
बिरुद्धमा
धावा बोलिरहेको छ
बुर्ज खालिफा
चढ्छ को ?
अब काला पत्थर ?
(जता ऐस उतै आराम
जता धन उतै मन),

सुन्छु अचेल
सहरतिर खुब मौलाएको छ रे
पर परबाट ल्याएको नासो संस्कृति,

सुदुररर क्षितिज पर
लादेनले निशाना बनायो
पेन्टागन
आफ्नो निधारमै
हान्दा पनि छेक्न सकेन संसार थेग्छु भन्नेले
अनि नाकै मुनि बसेको
रावणले किन चोरी औला नघुमाओस्
म/हामी रामापिथेकसहरुको अघि ?

पर्खी बस्छ बगर सधैँ

फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।

पीडाहरु उर्ली आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइन कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।

माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै'छ
तर्दा–तर्दै नदी बीच डुबि जाने नाउ रै'छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।

पठाकोछु लिन

लिन भनि पठाकोछु आउनू तिमी जूनसँगै
बाटोभरि बास्ना छर्दै मखमली फूलजस्तै ।

महिनौ भयो चिठी–पत्र,खबर नि नआएको
धेरै भयो खुशीयाली मेरो मनमा नछाएको
रातभरि जागै बस्छु तिमी आउने बाटो कुर्दै
कति दिन बसूँ अब आँखाबाट आँसु झार्दै ।

फर्कदैनौ परदेशबाट मलाई बिस्र्यौ कि त?
खबर ल्याउने जूनसँग कतै तस्र्यौ कि त ?
सबै भन्न थाले परदेशीको हुन्न केही भर
तिमीले पनि बिर्से पछि मेरो को नै छ र ?

खुसी छैन मन

हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो
बाँच्ने आधार छैन केही बरु मर्नै जाति भयो ।

बिश्वास माथि घात हुँदा कसोगरी मन बुझाऊँ
टुक्र–टुक्रा भाको मुटु खै के गरी भन सिलाऊँ
थोत्रो लुगा सम्झि मलाई बेवारिस फाली दियो
हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो ।

मन उड्छ टाढा–टाढा चुडिएको चङ्गाजस्तै
आँखाबाट खस्छ आँसु बग्छ सधैं गङ्गाजस्तै
जीवन मेरो घातै–घातको अलिखित कथा भयो
खाएका ती बाचाहरु दुखिरहने ब्यथा भयो ।

Wednesday, August 11, 2010

ढुङ्गालाई

ढुङ्गालाई पगाल्न खोजेँ आँफै गली गएँ,
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।

बादल जस्तै भाग्यौ हावा बनि पछ्याईरहेँ
कारण खोज्दा खोज्दै आफैँलाई सच्याईरहेँ
अनयास आँखाबाट आँसु त्यसै झरी रहे
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।

दुःख लुकाएर हरपल तिमीसँगै हाँस्न सकू
चोखो माया तिम्रै लागि सधैँ साँच्न सकूँ
ईच्छाहरु सेलाएर छेउमा बसी हेरी रहेँ
जिउँने रहर हुँदाहुँदै आज मरे सरी भएँ ।

Tuesday, July 20, 2010

तराई रोयो किन ?(गीत)

हिमाल हाँस्दा मुस्काएर तराई रोयो किन ?
आफ्नो आफ्नै बीच पनि पराई भयौँ किन ?

सुन्दर सानो घर हाम्रो सधैँ मिली बस्थ्यौँ
रुँदा सँगै रुन्थ्यौँ हामी हाँस्दा सँगै हाँस्थ्यौँ
हिमालको भर पहाड हुन्थ्यो पहाडको तराई
दुःख कष्टै भए पनि बस्थ्यौ रमाई-रमाई ।

मयूर नाच्दा पहाडमा डाँफे खुसी हुन्थ्यो
न्याउली रोए मैना चरी सँगसँगै रुन्थ्यो
तर आज डाँफे रुँदा न्याउली हुन्छे खुसी
आमा रुँदा यहाँ अचेल कोही छैन दुःखी ।

मुटु दुख्यो(गीत)

मुटु दुख्दा छातीभित्र आँसु झर्यो आँखाबाट
वेइमानीले धोका दिदा खसेँ म त छाँगाबाट ।

वैरीले नि माफ दिन्थ्यो यसो गरी शरण पर्दा
शत्रु पनि आफ्नो हुन्थ्यो यति धेरै माया गर्दा
छायाँ पर्यौ किन तिमी आज मेरो आँखाबाट ?

विर्सु भन्दा किन आउँछ सम्झनामा घरिघरि ?
आलो घाउमा नुन छर्न छायाँ बनि वरिपरी
वहार खोज्दा भएँ म त झर्या पात हाँगाबाट ।

स्वर-सुवाश पराजुली
संगीत-टिका भन्डारी

एक्लै परिएछ(गीत)

यात्रा गर्ने धेरै यहाँ तर एक्लै परिएछ
हाँसो,खुसी बस्ने मनमा आँसु भरिएछ ।

हाँस्ने,खेल्ने ईच्छाहरु सबै मरी गए
रहरहरु सबै मेरा त्यसै वइली गए
सम्झी ल्याउदा मन मेरो हुन्छ कस्तो–कस्तो
उराठिलो चैतमासे खडेरीको वनजस्तो ।

आगो बल्छ मनभित्र पोल्छ सधैँ छाती
छटपटिन्छु दिनभरि जागै बस्छु राती
कुरा खेल्छ नानाथरि हुन्छ कस्तो–कस्तो
दुई दिनको जीवन पनि भयो किन यस्तो ?

Thursday, July 1, 2010

किन छुन सक्थेँ

आकाशको जून तिमी किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।

जति हेर्यो हेरौँ लाग्ने आकाशको जून
आकाशगंगा भइदिऊ कि तिमीलाई छुन
तारे भीरमा फुलेकी छौ किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।

विहान हेर्छु शीत बनि तिमी पातमा हुन्छौ
ताराहरु वीचमा पनि किन तिमी रुन्छौ ?
छायाँ बनि भागि हिड्छौ किन छुन सक्थेँ
ओइलिएको कोपिला म किन फुल्न सक्थेँ ।

Sunday, June 27, 2010

दोसाधमा

घामपानीको दोसाधमा पर्‍यो ईन्द्रेनी
घामपानी जस्तै रैछ हाम्रो जिन्दगानी ।

कहिले उराठ खडेरी त कहिले पर्ने झरी
नरोकिने बग्छ सधैं पानी बगेसरी
बसमा राख्न नसकिने आफ्नै जीवन पनि

पुग्ने रहर सबको हुन्छ सगरमाथा शीरमा
पापी हावा आइदिन्छ पुर्याइदिन्छ तीरमा
सोचेजस्तो हुन्न रैछ आफ्नै जीवन पनि

Wednesday, June 16, 2010

सपनीमा देखेँ आज

सपनीमा देखेँ आज गाउँ मै भएको
कान्छी सँगै घाँस,दाउरा,मेला गएको ।

आँगनभरि मखमली,वेली फुलेको
लहलह धानको बाला खेतमा झुलेको
साद्या गुन्द्रुक,मकै,भटमास,मोही खाएको
कान्छी सँगै घाँस,दाउरा,मेला गएको ।

उस्तै थियो घाम,जून उस्तै गाउँघर
सोध्दै थियो चौतारीको पीपलु र वर
धेरै पछि देखेँ आज गाउँमै भएको
कान्छी सँगै घाँस,दाउरा,मेला गएको ।

Tuesday, June 8, 2010

यस्तै बेला

यस्तै बेला हिड्थ्यौँ हामी सधैँ रमाउँदै
माया गरी एकअर्काको हात समाउँदै ।

अमला र वयर खाँन्थ्यौ मीठो मानीमानी
कांचो छोडी पाकेको नै, खान्थ्यौ छानीछानी
माया हाम्रो देखी भाग्थ्यो हावा सर्माउदै

तिनै कुरा याद आउँदा लाग्छ कथा आज
कुन पापीले श्राप दियो बन्यो ब्यथा आज
छेउमा बस्ने कोही छैन मलाई सम्झाउँदै

आँसुसँगै

आँसुसँगै खुसी सबै बगि गयो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

फुलेको फूल देख्दा ईश्र्या मलाई लाग्छ
विरसिलो जीवनदेखि टाढा भागूँ लाग्छ
भमरा झैँ रस चुसी भागि गयो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

छातीभित्र उर्लि आयो वेदनाको भेल
घाउमाथि नुन छर्ने कस्तो हो यो खेल
खुसी फुल्ने मनभित्र आँसु भरियो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

Friday, June 4, 2010

घुम्टो ओढेर

गयौ तिमी पराईको घुम्टो ओढेर
खाएका ती बाचा कसम सबै तोडेर ।

अँध्यारो छ चारैतिर लाग्छ बिरानी
रात जान्छ रोइ–रोइ भिज्दै सिरानी
किन गयौ पराई भई मलाई छोडेर ?
खाएका ती बाचा कसम सबै तोडेर ।

टाढा हुँदा सम्झिएर सधैँ तिमी रुन्थ्यौ
बाँच्न भयो गाह्रो तिमी बिना भन्थ्यौ
तर आज गयौ किन ? मलाई छोडेर
खाएका ती बाचा कसम सबै तोडेर ।

हाँस्दा बोल्दा

नगरे’नि माया मलाई,हाँस्दा बोल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

दिनमा रोए पनि जून,रातमा हाँस्ने गर्छ
वादलसँग आकाशमा प्रीति गाँस्ने गर्छ
हाँसे,बोले पीडा पग्ली मन हल्का हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

फूल हेर वाधा पन्छाइ सधैँ फुलिदिन्छ
काडाँहरु बिचमा पनि सधैँ हाँसी दिन्छ
मन भए मेरो मनमा,तिमी डुल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

Tuesday, June 1, 2010

केही गेडीहरु:

गेडी १.
सुत्छु सधैँ राखेर,तिम्रो फोटो सिरानी
भिडभाड भए नि,किन लाग्छ विरानी
धोको छु,
तिम्रै याद्मा,तड्पी रोको छु ।

गेडी २.
कति खुशी तिमी त,चोखो माया छुट्दा नि
हेरी बस्छौ हाँसेर,मेरो इज्जत् लुट्दा नि
जाँचेर,
के अर्थ भो,तिमी वाँचेर ?

गेडी ३.
छाडी गयौ खै किन,मैले माया लाए नि
घात गर्यौ तिमीले,जति कसम् खाए नि
मारेर,
भुलि गयौ,एक्लै पारेर ।

Saturday, May 29, 2010

गेडी लेख्ने दोश्रो प्रयास

गेडी १.
के भो कुन्नी ए नि लै,चढ्यो लाली ओठमा
दिल बस्यो ए नि लै,माया कालो कोटमा
तनमा,
बसी गयौ,मेरो मनमा ।

गेडी २.
व्यथा फेरि बल्झेर,दिन काट्न गाह्रो भो
मया सधैँ सम्झेर,बाँच्नलाई साह्रो भो
छायाँले,
रोगी भा’छु,तिम्रै मायाले ।

गेडी ३.
थपी म्याद यिनले,मोज गर्छन् संसद्मा
होली खेल्छन् यिनले,सहीदको रगत्मा
जाग्ला है,
सहीदको,आँसु लाग्ला है ।

गेडी सम्बन्धि केहि सामान्य नियमहरु :-

गेडी" प्रतिपादक खगेन्द्र पन्धाक लिम्बू(चुम लिम्बू) ज्यूले तयार पार्नु भएको गेडी सम्बन्धि केहि सामान्य नियमहरु :-




१.प्रथम र दोश्रो पदलाई कथन भनिन्छ
२.प्रथम पदलाई कथन 'क' भनिन्छ l(बिषय बस्तुको कथन हुन्छ l)
३. दोश्रो पदलाई कथन 'ख' भनिन्छ ll(बिषय बस्तुको कथन हुन्छ l)
४.तेश्रो पदलाई थेगो भनिन्छ l
५.अन्तिम(चौथो) पदलाई बिट भनिन्छ l

६.सुत्रगत संरचना :-
४+३+४+३=१४
४+३+४+३=१४
३=३
४+५=९
७.प्रथम र दोश्रो पदमा गजलको काफिया र रदीफ जस्तो लय र यमकको निमित्त अनुप्रास मिल्नु पर्दछ l
८.तेस्रो पदले भावको मूल मर्ममा बस्नु पर्दछ l
९.तेश्रो र अन्तिम पदको अनुप्रास मिल्नु पर्दछ l
अन्तिम पदले भावको सम्पूर्णतालाई बोकेर चोटिलो निस्कर्ष दिनु पर्दछ l

उदाहरणको लागि....

गेडी (१)

नलाए नि चौबन्दी, मनमा राख नेपाल । = कथन "क"
ढाका टोपी लाएर, चन्द्र सूर्य उचाल । =कथन "ख"
साथी हो, = "थेगो"
सबै भन्दा देश माथि हो । = "बिट"

गेडी (२)

चौबन्दिको आठ्तुना बिनायो छ छातीमा
मायासँग साटेको सञ्जिवनी पातीमा
ओँठैमा
साटेको हो चौँरी गोठैमा ।

गेडी (३)

दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु,मन्को मूलैमा

Sabhar:Manu Loharungko Facebook Profilebata.

Friday, May 28, 2010

हिरा मोति

हिरा मोति जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई
सम्झी ल्याउदा आँसु खस्छ भुइँमा बररर ।

विदेशमा बसेको छ साथीभाइले भन्लान्
झिलिमिली रमितामा रमाएको ठान्लान्
विरहमा रुँदा यहाँ कसले सोध्ने मलाई
सुन चाँदी जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई ।

नपाइँने पराई देशमा पसिनाको मोल
खाकै राम्रो आफ्नै देशमा गुन्द्रुकको झोल
बस्नु पर्ने रै’छ बरु आफ्नै देश बनाई
सुन चाँदी जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई ।

Wednesday, May 26, 2010

'गेडी'

गेडी'१.
कैले देखि मनमा बस्यौ,मुटु बनेर ?
माया साँची राखेको तिम्रै,लागि भनेर
ठानेर,
बसिरै’छु,दिन गनेर ।

गेडी'२.
बेची खाए देशको नाम,मै हु भन्नेले
दादागिरी गर्छन यहाँ,शेर ठान्नेले
आकोछ,
जाग्नु पर्ने,बेला भाकोछ ।

गेडी'३.
बुद्ध पनि रुन्छन यहाँ,दुःखी बनेर
मान्छे मार्न बस्छन यहाँ,खाल्टो खनेर
वनमा,
सती गए,मान्छे धनमा ।

Tuesday, May 25, 2010

बगिजाने पानी

यस्तै रै’छ जिन्दगानी बगिजाने पानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

राम्रो जति सबै कुरा यस्तै हुन्छ क्यारे
हाँसी–हाँसी रुवाएर छाडी जान्छ क्यारे
लट्ठै पार्ने फूलको रुप जूनको उस्तै बानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

झर्नै पर्ने भएदेखि किन वागमा फुल्नु ?
अस्ताई जानु थियो भने किन मनमा डुल्नु ?
यस्तै रै’छ जिन्दगानी बगिजाने पानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

Thursday, May 20, 2010

पीरको भारी

पहाडजस्तै अग्लो भयो पीरैपीरको भारी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।

दुःखियाको कर्मै खोटो रुँदै बाँच्नु पर्ने
ओइलिएको पात रहेछु पलपल मर्नु पर्ने
खडेरी नि खपेकै छु त्यस्तै मुसलधारे झरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।

जहाँ जान्छु आफ्नो दुःख जान्छ आँफैसँग
आँफैसँग लुक्दै भाग्दै कहाँ जाऊँ म अन्तै
निराशाले थिच्दै जान्छ वाँच्दा मरी–मरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।

स्वर-सुवाश पराजुली
संगीत-रोशन शाही

Saturday, May 15, 2010

परदेश

आटोपीठो मीठै हुन्थ्यो खान्थ्यौ हाँसी–हाँसी
परदेश लागेँ कमाउन खुशी बन्धक राखी ।

अलिकति रहर मेरो धेरै कमाउने
कमाएर फर्की आइ सँगै रमाउने
दुःख पनि सुख हुन्थ्यो सँगसँगै हुँदा
नरोऊ भन्ने कोही छैन परदेशमा रुँदा ।

ज्यान टाढा भए पनि उनकै याद मनमा
कस्तो राक्षस पस्यो मनमा मन गयो धनमा
सम्झी–सम्झी भक्कानिदै रुन्छु घरि–घरि
छायाँ बनि उनको तस्वीर घुम्छ वरिपरी ।

Tuesday, May 11, 2010

सानो छदा

सानो छदा सधैँ आमा आशिष मलाई दिन्थिन्
मुहार मेरो हेरी–हेरी पीर ब्यथा भुल्थिन् ।

हुर्के बढे सन्तान सबै लाखापाखा लागे
आफैँ–आफैँ झगडा गरी लडाई गर्न थाले
भन्थिन आमा दाजुभाइ मिलि सधैँ बस्नू
घरपरिवार,गाउँ अनि देशको इज्जत राख्नू ।

सानो थियो घर हाम्रो सुखी परिवार
कुन बैरीको आँखा लाग्यो बिग्रयो घरबार
बारम्बार भन्थिन् आमा नाम कमायस् वावु
जहाँ गए’नि साथीभाइ असल छिमेक छान्नू ।

Thursday, May 6, 2010

जून निदाएको बेला

(प्रकाशोन्मूख कृति)
विधा-गीत संग्रह
लेखक-केदार श्रेष्ठ 'गगन'
चित्र- खगेन्द्र पन्धाक लिम्बू
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला
बाँसुरी त्यो रुन्छ सधैँ धुन निदा'को बेला ।

भाग्य कसो फिर्ने छैन फर्किन्छ रे खोला
आशैआशमा बाँच्नु पर्ने कस्तो भाग्य होला ?
उजाड हुन्छ वाग सधैँ फूल निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।

मिलि काम गरे हुन्छ देशको उन्नति
उठौँ,जागौँ,जुटौँ अब गरौँ आफ्नो प्रगति
मृत हुन्छ शरीर सधैँ खुन निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।

Monday, May 3, 2010

ताराभरि

ताराभरि पाउँछु तिमीलाई उसैगरी जूनमा
गीत गाउँछु तिमी नै छौ त्यसैगरि धुनमा ।

अन्जान मै माया बस्यो कतिसाह्रो गाढा
मन भित्र गढ्या माया नहुने है टाढा
जहाँ जान्छु उहीँ पाउँछु साथ मै तिम्रो छायाँ
नछुटिने, नमेटिने कस्तो तिम्रो माया ।

आकाशमा लाखौ तारा तिमी एक हौ जून
बादल बनि आइदिऊ कि तिमीलाई छुन
उड्छ मन कल्पनामा सिमलको भुवाजस्तै
तिमी मै हराई जान्छु आगोको त्यो धुवाजस्तै ।

Saturday, March 20, 2010

गीत(पूर्णिमाको साँझ)

खुसी हुँदा हाँस्थ्यो जून पूर्णिमाको साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।

रिसाएझैँ गर्थिन् उनी धेरै माया गरी
जिस्किएर पर सर्थिन् जान्छु छाडी भनि
लुकीलुकी एकान्तमा भेट्रथ्यौ सधैँ साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।

शान्त हुन्थ्यो यो मन एकझुल्को हेर्न पाए
पुगिन्थ्यो कि स्वर्ग उसको काखमा मर्न पाए
अतितका पाना पल्टी रोएँ धेरै साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।

Friday, March 19, 2010

(गीत)बरु मृत्यु सहुँला

तिमी टाढा हुँदा म कसरी बाँचुला
टाढा नजाऊ मार,बरु मृत्यु सहुँला ।

तिमीलाई मैले आफ्नै मुटु मानिसकेँ
जीवनसाथी तिमीलाई नै ठानिसकेँ
तिमी पराई हुँदा म कसरी बाँचुला
पराई नहोऊ मार,बरु मृत्यु सहुँला ।

तागत छैन ममा पराई भाको हेर्ने
ईच्छा मेरो एउटै तिम्रो सिउँदो भर्ने
दुःखसुख बाडी हामी सँगै बाँचुला
छाडी नजाऊ मार,बरु मृत्यु सहुँला ।

Saturday, March 13, 2010

रुन मन लाग्यो

फेरि आज उनलाई सम्झी रुन मन लाग्यो
छायाँ बनी उनकै नजिक हुन मन लाग्यो ।

पीडा सबै पग्लिएर रातमा मेरो निन्द्रा छैन
परदेशमा मेरो हजुर खाको छ कि छैन ?
महिना बित्यो बर्ष बित्यो खवर पाको छैन
रिसाएर हो कि कुन्नी सपनीमा आको छैन ।

भोलि–भोलि भन्दा–भन्दै जीवन बित्ने हो कि
हुलाकी दाइ खवर लगिदेऊ पर्खि राछ भनि
तृष्णा बढ्यो मनमा कस्तो छुन मन लाग्यो
फेरि आज उसकै यादमा रुन मन लाग्यो ।

Thursday, March 4, 2010

(गीत )तड्पाएर छाडी जाने

तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
किनारसँग मस्किएर बगी जाने नदी जस्तो ।

किन आउछु भन्नु त्यसै पर्खाई नआउनेले
झुटो कसम खानु किन माया नलाउनेले
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
पातसँग जिस्किएर बही जाने हावाजस्तो ।

सिङ्गो जीवन हाम्रो एउटै आधा तिम्रो मेरो आधी
किन भन्नु नहुनेले तिमी मेरो जीवन साथी
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
लठ्याएर भागी हिड्ने सुवास त्यो फूलको जस्तो ।

Saturday, February 27, 2010

समीक्षा


‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा–

नन्दलाल आचार्य


सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ । त्यस्तै विदेशमा रहँदा हुने आफ्नोपनको अभाव र पीडालाई गीतका थुँगामा उनेर हुदय छुने भाव प्रेषण गर्ने काम गीतमा भएको छ ।
काखमा च्यापी लाला र बाला मेरै कुरा गर्दी हो
सपना बीच रातमा ब्युँझी मलाई खोज्दी हो । (सयपत्री र मखमली, पृष्ठ ः २७)
यस्तै मनोकांक्षा बोकेर हाल दुबईमा अर्थोआर्जनमा सरिक युवा गीतकार केदार श्रेष्ठ ‘गगन’ ‘क्षितिज पर’ गीत संग्रह लिएर नेपाली साहित्यमा दर्विलो पाइला राख्न जुटेका छन् । विदेशी भूमिमा रहेर आफ्नो मातृभूमिलाई सम्झेका छन् । विदेशी भूमिले पोलेको कुरा, समाजसुधारको प्रवल चेतना, मायाप्रेममा आएको आडम्बरपनप्रति वितृष्णा, मुलुकप्रतिको सचेत दृष्टि, प्रकृति र नारी सौन्दर्यको लोभलाग्दो चित्रण, मानव मनमा नैतिकता लोप भएका कुराहरू र विशेष गरी विरह–शृङ्गारिक रसले प्रेरित भएका उनका धेरै गीतहरू यस संग्रहमा परेका छन् ।
कृतिगत विशेषताः–गीतकार केदार श्रेष्ठ ‘गगन’ को ‘क्षितिज पर’ गीत संग्रह मार्फत्.....
— कतैकतै देशप्रेमलाई सर्वस्व ठान्दै देशभक्तिको गीत गाउँछन् ।
—धेरै जसो ठाउँमा प्रेम–प्रणयका माध्यमबाट जीवनको रहस्य खोतल्दछन् ।
—पीडा, अभाव र भताभुङ्ग भेट्दा जीवनवोधले मर्माहत हुँदा पनि जीवनवादी दृष्टिकोण राख्न भुल्दैनन् ।
— सिन्धुलीको प्रकृतिले मोहित पार्दा त्यसैको स्तुति गर्न खोज्छन् ।
—अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेट्टाउँदा विद्रोहको मिहिन स्वर सुसेल्दछन् ।
— आजका मानवमा देखिएका नैतिकता हराउँदै गएका कुराहरू समेट्दछन् ।
— अहिले मायाप्रेममा आएको आडम्बरीपनलाई झापड दिन खोज्दछन् ।
—सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मीठास पैदा गर्न खोज्छन् ।
—अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउँछन् ।
—जीवन र जगत्का बहुल यथार्थलाई जीवन्त रूपमा उतार्न सक्ने विषय, विम्ब र प्रतीकहरूको छनौट गर्छन् ।
—लयात्मक र गेयात्मक भाषाशैलीको प्रयोगबाट काव्यात्मक भाव व्यक्त गर्ने गर्दछन् ।
— यत्ति हुँदाहुँदै पनि माझिएको भाषाशैलीको कमि देखा पर्छ ।
—युवा उमेरको युवा भावना प्रकट गर्ने क्रममा वर्णविन्यासको उचित रखाइमा कमजोरी दर्शाएका छन् ।
कलमले सिर्जने कुरा हर पिढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ अति नै महत्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न त सबैसँग यी छालाका दुई चछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै स्रष्टा हुनु हो । यसो गर्न मनको आँखाबाट मात्र सम्भव छ । समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन नसक्दा नै सृष्टि सुरु हुन्छ । हाम्रो पुस्तामा उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण गर्ने विचार अहिले खिँइदै खिँइदै आधा भएको छ, अब खिइन नसक्ने र नमिल्ने अवस्थामा छ । समकालीन यथार्थका बहुल पाटालाई सार्थक र उद्देश्यमुलक ढ्रगले समुन्नतिमा रूपान्तरण गर्नु ठूलो चुनौति भएको छ । कहरको कालो रात सकिएपछि मात्र सम्मुन्नतिको उज्यालोे उषाकाल आउँछ । हरतरहले चर्याइरहेको घाउले मलहमपट्टी पाए पछि मात्र पीडा कम भएर घाउमा खाटा बस्छ अनि सुखानुभूति देखापर्दछ । मुलुकको रथ हाँक्नेहरूमा बहुसंख्यक शोषितपीडितप्रतिको गम्भिर चासो, समाजप्रतिको दायित्व बोध हुन सके मात्र राजनैतिक, आर्थिक एवं सामाजिक शोषणले लाटो पारिएका जनताको मनमा आशा र भरोसाको बीजारोपण गर्न सकिन्छ । एक समयमा जनताले तौली तौलीकन शब्दहरू बोल्नुपथ्र्यो । आफ्ना मनका करुण भावहरू पनि त्यसै गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपथ्र्यो । वेदनाका आँसु चुहाउन पनि कठिन थियो । हरेकका आँखाका सपनाहरू धुजाधुजा भएर च्यातिएका थिए । त्यत्तिखेर अमानवीय घटनाहरुको लेखाजोखा थिएन भने भ्रष्टचारी घटनाहरूको हिसाबकिताव र नालीबेली राख्ने चलन नै थिएन । यो कथन त्यस युगलाई जोख्ने असली तराजु हो । भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज नगुञ्जेको होइन । अन्याय अत्याचारका विरुद्ध बमवर्षा नभएको होइन । मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएका कारणले संसारलाई नै चमत्कारिक योगदान दिने क्षमता मरेर गयो र बदलामा पुरातनवादी कुसंस्कारी सोच खरो रूपमा देखापर्यो । त्यसरी नै राजनीतिले देशलाई मागिखाने भाँडो बनाएकोमा रुष्टता व्यक्त गर्दै भनिएको छ ।
विश्वको छानो सगरमाथालाई नबनाऊ होचोआफैँ,
आफैँ फुटेर किन बनाउनु देशलाई खोटो । (हामी एउटै, पृष्ठ ः २८)
प्रशासक होस् या शासक, जनतामाथि राज गर्ने उसको काम हो तर त्यो राज जनताको इच्छा अनुरूप, जनताको हित अनुकूल अनि जनताको सेवक हुँ भन्ठानेर हुनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक पद्धतिमा हुन्छ भन्ने कुरा कसैले पनि भुल्न मिल्दैन । हाम्रो इतिहासले हामीलाई धेरै थरिको पाठ पढाइसकेको छ । आफूले पढेको, भोगेको र अनुभवले संगालेको ज्ञान व्यवहारमा लागू गर्नुपर्छ । त्यो ज्ञान व्यवहारमा नआउने हो भने त्यो नै राष्ट्रोन्तिको बाधक साबित हुन्छ । राष्ट्रघाती कदम ठहर्दछ । आजको कालो वर्तमान चिर्न आवश्यक छ । कार्यमा पारदर्शिता, नीति निर्माणमा सर्वस्वीकार्यता र राज्य सञ्चालनमा देश र जनताको स्वार्थसिद्धमा हुने हो भने शत्रुपक्षले मुण्टो उठाउनै पाउने थिएनन् । प्रशासन भन्ने कुरा कसैको बहकाउ, कसैको धम्की र कसैको माया–ममताले चल्न थाल्यो भने कानूनी राज्य असफल हुन्छ । जीवन चलाउन माया चाहिन्छ तर प्रशासन चलाउन नीति चाहिन्छ, नियम चाहिन्छ । यस प्रकार गीतकार जीवनको याचना गर्दै थप्छन्....
जता हेर्छु बैँशालु बाढी देख्छु लौन मलाई तारिदेऊ
यौवनको भेलले लान लाग्यो मलाई कोही बचाइदेऊ ।(बैँशालु बाढी, पृष्ठ ः ३०)
जन्मले राष्ट्रवादी भइन्न कर्मले सच्चा राष्ट्रसेवक कहलाउन सकिन्छ । हरेक अग्रगामी कार्यलाई पश्चगमनवाद वा यथास्थितिवादले नामोनिसान मेट्न खोजेका घटनाहरू नयाँ होइनन् । शक्तिशाली छातीभित्र शक्तिशाली विचार बोकेर हिड्ने विचारकको विपक्षमा मत जाहेर गरी असत्यको राज फैलाउनेहरू विरुद्ध न्वारानदेखिको बल झिकेर लागिपर्नु पनि चानचुने अठोट होइन । कालो मन भएकाहरू ऐयासी जीवन विताइरहेका र अँध्यारो भविष्यको जग खडा गरिरहेका परिवेशको कारुणिक अवस्थाबाट पार पाउन कठिन हुन्छ । नाटक देखाउन सजिलो छ तर दर्शकलाई प्राकृतिकपनले रिझाउन कठिन छ । प्रतिगमनको विरुद्धको आन्दोलनमा प्रतिगमनका दर्शनाभिलाषीहरू नै लाग्नु हिजो आफृ्ले गरेको पाप र भ्रष्टचारलाई चोख्याउने माध्यम आन्दोलनलाई बनाउनु हो । भ्रष्टचारको भेलले मुलुकलाई रसातलमा पुर्याएको जगजाहेर छ । अझै पनि तिनै भ्रष्टखोरहरूलाई सत्तामा पुर्याई उनीहरूकै प्रभुत्वलाई स्वीकार्न खोजियो भने मुलुकमाथि गद्दारी गरेको ठहर्दछ । हामीकहाँ भएको नयाँ परिवर्तनका लागि हरेक ठाउँका नेपालीहरूको बराबर योगदान रहेको कुरा इमान र जमानमा साथ विश्वास नगरे असली राष्ट्रसेवककोे मुटु पोल्छ । हिजोका खुंखार अपराधीहरूलाई आज सुनपानी छर्केर चोख्याउँने पृ्र्व चलनले मन कुड्याउने काम मात्र गर्छ । दुःख, वेदना, आँसु, हाँसो, यन्त्रणा, दमन, प्रतिरोध, घात, प्रतिघातहरूलाई मात्रै जन्म दिन्छ । यसरी मायाको खाँचो महसुस भएको छ । मायालुको मायाका निम्ति गाउँ खोज्दै हिँड्दा पनि प्रकृतिको मनोहर छटाले आफूलाई तानेको भाव प्रेषण गर्न गीतकार भुलेका छैनन् ।
पहाड र भञ्ज्याङ्ग हुँदै, छिचोल्दै अफ्ठ्यारा ती बाटाहरू
बादलसँगै लुकामारी खेल्दै मस्किरहने प्राकृतिक छटाहरू । (मायाको गाउँ खोज्दै, पृष्ठ ः २९)
मानिसको स्वभावलाई विचार्दै दार्शनिक ओशो भन्छन्– ‘कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ, ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसावले । शारीरिक हिसावले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।’ त्यसैले त सिकाइको मैदानमा जो पनि आजीवन विद्यार्थी नै रहिरहन्छ किनकि सिकेर सिकी नसकिने र जानेर जानी नसकिने अथाह कुराहरू छन् हाम्रै वरपर । युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो हुने अवस्था नआए हामी निरंकुशताका कैदी नै हुन्छौँ । स्वतन्त्रता, समानता र न्यायका सेनानी बनेर नयाँ दिनको स्वागत गर्न सक्दैनौँ । नकाम गर्नेहरूको झाँको झार्न र अन्यायमा परेकाहरूको उद्धार गर्नमा आफ्नो श्रद्धा झल्कन पाउँदैन र हाम्रो अभीष्ट मर्छ । जो जहाँ लागे पनि, जो जहाँ पुगे पनि पवित्र दिमाख खियाएर हुन्छ वा परिश्रमी हातगोडा चलाएर हुन्छ श्रम गर्दै पेट पाल्ने विचार मर्नुहुन्न । इमानको काम गर्ने हो भने गोरु, गाई, बाख्रा र भैंसीको पुच्छर पनि समात्नुपर्छ, करेसाबारीको माटोसँग लड्नु पनि पर्छ, भिज्नुपनि सक्नुपर्छ । त्यत्ति मात्र कहाँ हो र हरिया पात र बिरुवासँग सिंगौरी खेल्नै पर्यो भने डोको र बञ्चरो बोकी जङ्गल पनि पस्नुपर्छ । मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इष्र्या, कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावना पालेर मानवता नै हराउन दिई ढोँगी, स्वार्थी, संकिर्ण, आडम्वरी हुनु र स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु हुनु कत्तिको लाजमर्दो कुरा हुन्छ त्यो सम्झनुपर्छ । माया गर्छु भनेर माया हुने हैन, मनमा स्वतः हुने नैसर्गिक कुरा हो । हृदयदेखि हुने माया निस्वार्थी हुन्छ । शारीरिक हाउभाउ र भौतिक लालचदेखि प्रेरित भएर गरिने माया, माया हैन, स्वार्थ हो । सफल माया गर्न सफा हृदय चाहिन्छ ।
दुबै मिली रोपेका ती ठूला भए वरपीप
लबल गरेर हुन्न रै’छ मायाप्रीति सफल ।(मनभित्रका छालहरू, पृष्ठ ः ३०)
इतिहासका पाटाहरू स्मरण गर्नुपर्दा एक समयमा अन्धकारमा जघन्य अपराध गर्दै आएको राज्य अक्षरहरूबाट भएको उज्यालोदेखि पनि आत्तियो र अक्षरकर्मीहरूको भौतिक लीला समाप्त गर्न तम्सियो । कलमकर्मीहरू धरापमा पर्नु र ज्यान दिन बाध्य पारिनु भनेको हिटलर र मुसोलिनीको शासन शैली फर्काउनु हो । द्वन्द्वकाल अघिदेखि आजसम्ममा दर्जनौं पत्रकारहरूले ज्यान गुमाउनु र केही अज्ञात अवस्थामा नै रहनुले राज्य आतड्ढ, भ्रष्टचार र दण्डहीनतालाई प्रश्रय मिलेको छ । नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रतिवेदनका अनुसार देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, अम्बिका तिमल्सिना, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा, जगतप्रसाद पण्डित, मोहन खनाल, इश्वर ढुङ्गाना, भीमबहादुर धर्ती, सुभाष मैनाली, कञ्चन प्रियदर्शी, शम्भु पटेल, राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्ठ र उमा सिंहजस्ता पत्रकारहरूको रगत यस धर्तीमा बगिसकेको छ । यी कलम र वाणीका धनी सरस्वतीका सन्तानहरूको उच्च शहादतले स्वतन्त्रताको विश्वसनीयता, तर्कपूर्णता र नैतिकताको आधारहरू नै स्वतन्त्र सञ्चारको सारत्व हो र नियन्त्रित सञ्चार भनेको तानाशाही भ्रमको अव्यखित रूप हो भन्ने कार्लमाक्र्सको भनाइलाई खिल्ली उडाएको छ । कलम र वाणीले स्वतन्त्ररूपले काम गर्न पाएन भने कुनै पनि राष्ट्र समृद्धशाली हुँदैन । राष्ट्र बनाउन माया चाहिन्छ, त्यस्तै मायालु बनाउन माया खन्याउन सक्नुपर्छ । साँचो माया गर्नेहरू संसारमा कमै हुन्छन् । मायामा त्याग हुन्छ । भौतिक सुखको अपेक्षा साँचो मायामा हुन्न । आफ्नी मायालुलाई फूल बनेर फुलिदिन आग्रह गर्दै आफू काँडा बनेर संरक्षण गर्ने वाचा गीतमा प्रकट भएको छ ।
फुली बस सधैँ तिमी काँडा म बनिदिऊँला
सदाबहार भइदेऊ तिमी, ईश्वर भाकिदिऊँला । (फूल, पृष्ठ ः ३१)
‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’ भनेर दार्शनिक ओशोले मानिस नै देवता बन्न सक्ने कुरा गरे । तर हामी भने नयाँ नेपाल बनाउने सपना साँचेर बसेका छौँ । पुरानो नेपालको सही चिरफार नगरीकन नयाँ नेपाल निर्माण गर्न सक्दैनौँ । हामी नेपालीहरू विश्वका सबभन्दा गरिब, पछौटे, परनिर्भर हुनुमा जिम्मेवार को र किन हामीहरू देशभित्र रोजगारी नपाएर लाखौंँको सङ्ख्यामा विदेशतिर भौंतारिन वाध्य छौँ ? किन अहिले पनि हाम्रो दुर्ई तिहाई श्रमशक्ति कृषिक्षेत्रमा अल्झिएको छ र पनि विहान वेलुकाको छाक टार्न धौधौ छ ? बुझ्नुपर्छ कि हाम्रो औसत आर्थिक वृद्धिदर जनसङ्ख्या वृद्धिदरभन्दा माथि उठ्न नसकिरहेकोले हाम्रो टाउकोमाथि विदेशी ऋणको भार प्रति वर्ष थपिँदो छ तर हाम्रो गरिबी, बेरोजगारी, पछौटेपन, असमानता र परनिर्भरता टसको मस भएको छैन । यी सबै हुनुमा हाम्रो डरपोक भावना र दासमनोवृत्ति जिम्मेबार छ । अझै बहुसङ्ख्यक श्रमजीवी किसान, मजदुर र बेरोजगार युवाहरू चरम गरिबी, भोक, रोग, अशिक्षा र चौतर्फी उत्पीडनबाट ग्रसित छन् र पनि उठ्नुपर्ने ठाउँबाट उठ्न सकेका छैनन् । यसै माटोमा युगौंदेखि बसोवास गर्दै आइरहेका मधेसी, जनजाति, दलित, अल्पसङ्ख्यक र भाषिक समुदायहरू एकात्मक राज्यको चरम जातीय र भाषिक उत्पीडनको दर्द खेप्न वाध्य पारिएका छन् । देश यतिखेर शिशु गणतन्त्रलाई हुर्काउन व्यस्त भएको छ । गणतन्त्रले जताततै हर्षोल्लासको वातावरण छाएको छ । यस समयमा जनताको ठूलो आशा र भरोसाको केन्द्रविन्दु भनेको मेलमिलापको राजनीतिबाट जनताको संविधान निर्माण गर्नु हो । मिलेर निर्वाचनमा गयौ र गच्छेअनुरूप जनमतले विभुषित हुन पायौ, अब पनि मिलेर नै समस्याहरू पाखा लगाओ भनेर जनताहरू भन्दै छन् । देशलाई भडखारामा हाल्न पश्चगामी र यथास्थितिवादीहरू न्वारानदेखिको बल झिकेर लागिपरेका थिए र अहिले पनि केही हुन्न भनेर कानमा तेल हालेर बस्ने बेला छैन । यसै सवालमा दार्शनिक ओशोले सांस्कृतिक रूपान्तरण गर्न समय लाग्ने कुरा गर्दै भनेका छन्– ‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ हामीकहाँ पनि असन्तोषका कुराहरू धेरै छन्, अभावका पोकापन्तेराहरू मनग्यै छन् तर सन्तुष्टि दिने आधारहरू पनि मनग्यै छन् । देशले स्थायी गति लिने कुराहरूमा जनताको नाममा हरेकले पटक पटक झुकेर कुरा गर्नुपर्छ भने पनि पछि पर्नुहुन्न । भिन्न मत भएकाहरूसँग हरेकले भन्न सक्नुपर्छ– जनताको नाममा मैले यति मात्र सकें अरू केही भए आऊ टेबलमा बसेर गुनासो पोखापोख गरौँ । चित्त नबुझे दाजु सम्झेर एक घुस्सा मलाई देऔला । म पनि भाइ सम्झेर सहूँला । म मेरो कुरामाथि पार्न अलिकति धकेलौँला । तिमी पनि दाइ सम्झेर कुरा खाँदै मलाई तल पार्न मानसिक कसरत गरौँला । अबको हाम्रो मनमुटाब भनेको घर भित्रका एउटै आमाका सन्तानहरू बीचको हो । दाजु–भाइ, दिदी–बहिनी बीचको हो, मैले अधिकार नदिए मेरो कान बटार्ने पूरा हक तिमीहरूलाई छ । हाम्रो लक्ष्य भनेको एउटै हो । हामी सबै मिलेर मुलुकका समस्याहरू निर्मूलको बाटोमा जाऔंँ । जनताको सच्चा सेवक बनेर मुहार देखाऔंँ । दुवै थरी दाजुभाइ, दुवै थरी दिदी–बहिनी मिलेर जनताको घर निर्माण गरौंँ । त्यस घरका प्रत्येक सामाग्री न तिम्रो चाहनाका हुन्छन्, न मेरो लिडे ढिपीका हुन्छन् । ती सामाग्री त जनताका चोखा र प्यारा भावना र सम्मानका हुन्छन् । तिमीले पनि जनतालाई गुरु मान्ने हो, मैले पनि जनतालाई शिरमा राखेर हिड्ने हो । मैले जनताको अधिकार दिन उही अहंकारीपन दर्शाएर कन्जुस्याइँ गरेँछु भने मलाई जनताले नै सात जुनीसम्म मुख नदेखाउने गरी कलंंकित पारिदिन्छन् । यसमा म विश्वस्त छु,, होसियार छु । त्यसैले मेरा प्यारा भाइ र बहिनीहरू आऊ, ए आदरणीय दाजु र दिदी आउनुहोस्, पौने तीन करोड जनता र १,४७,१८१ वर्ग कि.मी. यो माटोको उज्ज्वल भविष्यको लागि एकै स्थानमा चोखो मन लिएर उभियौँ । हामी एउटै रथमा बसेर गन्तव्य विन्दूतर्फ जाऔँ ।” अबका हरेक सरकार र हरेक नेतानेतृको बोली र व्यवहार यस्तै प्रकृतिको हुनुपर्नेमा एकले अर्कोलाई आन्दोलनमा हुत्याएर अनिष्ट निम्त्याइँदै छ । जनता गाँस, वास र कपासका लागि विदेशियका विदेसियै छन् । राजनीतिले दुर्गन्ध फ्याकेको फ्याकै छ । आफ्नो माटो मलिलो बनाउने चाहनामा कुठाराघात भएको छ ।
पराइ ठाउँ, पराइ मान्छे कठै भन्ने कोही
फर्की आऊ चाँडै घर आफ्नो खोरियाबारी खन्न ।( फर्की आउनू, पृष्ठ ः ३४)
यता मधेशमा र पहाडमा लागेको समस्याको ढेरी हेरेर, देखेर र मनन गरेर काम हुनु आवश्यक छ । यो समय फुकिफुकी पाइला चाल्ने बेला हो । लहरो तान्दा पहरो गर्जेला भन्ने भय पनि आफ्नै ठाउँमा छ । आपसमा लडेर, नरसंहार गरेर देशले मुक्ति पाउँदैन । अब भने जनतालाई ओत दिएर सुरक्षा कवजको भूमिकामा रहेर भएका गल्तीलाई पश्चाताप गर्दै सबै वर्ग, सवै समुदायलाई संविधानभित्र अटाउँने व्यवस्था हुनु र गर्नु आवश्यक छ । एकपटक आफूलाई जति विश्वास गरिन्छ त्यति नै विश्वास अरूलाई पनि गरेर हेरौं भनेको त कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राख्दा पनि बांगाको बांगै भयो । अग्रगामी कदमका विरुद्धमा यस्तै धोका मिलेमा, पुनः शासकीय अहंकार भित्रिदै गएमा प्रत्येक नेपालीका घर घरबाट कुटो भेट्टाए कुटो, कोदालो भेट्टाए कोदालो, हँसिया भेट्टाए हँसिया लिएर अहंकारको समूल नष्टका लागि जाइ लाग्नुपर्ने दिन नआउलान् भन्न सकिन्न । देवता, भूत, गन्धर्व, किन्नर, प्रेत, पिचास, डंकिनी, घनघोर शब्दका साथ तारकासुर दैत्यमाथि जाई लागे झै जनताहरू जाई लाग्नुपर्ने दिन नआऊलान् भन्न सकिन्न । अतः सबै मिलेर संविधान बनाउँनु आवश्यक छ किनकि संविधान कुनै पार्टी विशेषको घोषणापत्र होइन । त्यसैले यो टुटेफुटेको कलम विनम्रताका साथ भन्छ–जनताको चह¥याइरहेको घाउमा मलहम पट्टी गर्ने दिशातर्फ ध्यान जानुपर्छ । अहंकार बाँच्न पाउँनु हुन्न । गणतन्त्र नेपालका शासकले यी कुराहरूलाई नबिर्सिदिए पनि जनताको हितमा संविधान बन्छ, बन्छ । घर भित्रका र घर बाहिरका हरेक वर्ग समुदायले आफ्नै चेतनाले काम गर्नु आवश्यक छ । हामीहरू उज्यालोका उपासक हौँ । हृदयदेखि नै मन, वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्साउनेहरूको ताँती पनि हामीकहाँ लामै छ । अनुभव गरेका कुराबाट पाठ नसिक्नेहरू र सिकेकोे कुरा जनता र राष्ट्रको हितमा प्रवेश गराउन नसक्नेहरू जनताका नेतानेतृ होइनन् । कुनै पनि नेतानेतृबाट देशको विकास देखिँदैन भने जनताले त्यस्ता नेतानेतृलाई गुहे गल्लीमा मिल्काइदिन्छन् । राजनीतिले मुलुककोे छातीमा पीडामा पार्दैन, बरु परेको पीडा हटाउँछ । पीडा हुनेहरूलाई पनि खुखानुभूतिमा पुर्याउनु राजनीतिको काम हो । पटकपटक गल्ती गर्नेहरू र जनहित गर्न नसक्नेहरू नेतानेतृ बन्न सक्दैनन् । जनतालाई छटपटीमा पुर्याएर छोड्ने र अधकल्चो भविष्य सुम्पने नेतानेतृ होइनन्, मात्र पाखण्डी हुन् । त्यसैले त अचेलको राजनीतिले काम नगरेको देख्दा दार्शनिक ओशो राजनीतिको बारेमा भिन्न मत जाहेर गर्दै भन्छन्–‘राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रूपान्तरण हुनेछ ।’ कुनै तरिकाबाट परिवर्तन, मुक्ति र भविष्य जनतालाई नदिने राजनीति, राजनीति होइन । यस्तो राजनीतिको जन्म भए पनि पुनर्जन्म छैन । त्यो राजनीति स्वयम्का लागि पनि घातक अश्त्र मात्र हो । राजनीतिको पुच्छर समाएर डोहोरिँदा भड्खालामा पर्न सकिन्छ, त्यसै अाँखामा पट्टी बाँधेर मायाको पछि लाग्दा अनिष्ट निम्तन सक्छ ।
एकोहोरिएर पछि लाग्दा पराइसँगै उनी जाँदा
बेचैन छ मन मेरो निष्ठुरीले बाटो मोडिदिँदा ।(फुलेको फूल, पृष्ठ ः ३३)
माया न्यायमा बस्नेहरूले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । दार्शनिक ओशो गरिबीको बारेमा भन्छन्–‘गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दुःखपूर्ण छ । दुःखपूर्ण दृष्टिबाट मुक्ति नै दुःखबाट मुक्ति हो ।’ दृष्टिपरिवर्तन आफ्नै खुट्टामा बन्चरो हानेर आउने हैन । परिवर्तन आप्mनै गाँस र वास संकटमा राखेर, रोजीरोटी गुमाएर पाइने हैन । एउटै हत्केलाका औंलाहरू त समान हुँदैनन्, एकै आमा–बुवाका सन्तान त समान स्वरूप र स्वभावका हुँदैनन् भने एक देशका अनेकन जनतामा समान विचार, समान आकांक्षा र समान कार्यशैली भेट्नु आकाशको फल आँखा तरी मर भने सरह हुन्छ । आफैले गरेको कर्म आफ्नै भविष्यका लागि कत्तिको हितकारी छ, त्यसको लेखाजोखा गर्न सकिएन भने केही गर्नु भनेको अँध्यारोमा बन्दुक हानेजस्तो हुन्छ । राजनीतिको माया र व्यक्ति विशेषको माया बीच गहिरो अन्तर छ । एकको झुकाव मुलुकको हितको लागि हो भने अर्को वैयक्तिक सुखको लागि हो ।
यो साल यस्तै भो, छोरालाई हेरेर चित्त बुझाऊ
रातदिन सम्झीसम्झी भुँइमा आँसु नखसाऊ । (जीवनसाथी, पृष्ठ ः ३०)
मुलुकको चौतर्फी पक्षको समुन्नतिमा देशका हर्ताकर्ता नलागीकन पूरातनवादी यथास्थितिलाई नै मलजल गर्दै हिंडे भने विद्रोहका हातहरू उठ्नेछन् । परिवर्तनको गीत गाउँने गायकहरू थपिनेछन् । चट्टानझैं शक्तिशाली छाती पारेर युगौंदेखिको पुरानो पर्दा च्यातचुत पार्नेछन् । यस महाअभियानको बाटामा तगारो बन्नेहरूले प्रायश्चित गर्ने शब्द र भाग्ने बाटाहरू पाउनेछैनन् । स्वार्थको घैला भर्नेहरू धेरै छन् समाजमा । तिनीहरूको मुखमा बुझो लगाउन पनि हार स्वीकार्नु हुन्न । समाजमा त्यस्ता विकृत स्वरूपको मुखमा कालोमोसो दलेर विजयोत्सव मनाउने कार्यतर्फ अग्रसर हुनु जरुरी छ । अहिले बलियो कानृ्नको अभाब भएको यो अवस्थामा सामन्तहरूले मनपर्दी शोषण गरिरहेका छन् । आधा आकाश ढाकेका भनिएका अर्थात् आधा धर्ती ओगटेर रहेका महिलाहरू झन् पितृसत्तात्मक शोषणको जाँतोमुनि पिसिँंदै आएका छन् र मुक्तिसंग्राममा खरो गरी उत्रने जमर्को गरिरहेछन् । हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने दलितहरू मनुवादी छुवाछुत प्रथाबाट र मुस्लिमहरू हिन्दू लगायत अन्यको धार्मिक अहङ्कारवादबाट पीडित छन् । तराई र पहाडले कर्णाली, सेती–महाकाली र हिमाली भेगमा बसोवास गर्नेहरूको चरम क्षेत्रीय उत्पीडनलाई बुझिदिन सकेका छैनन् । ‘तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।’ भनेर दार्शनिक ओशोले राजनीति सप्रदा सबै कुरा ठीक हुने कुराको संकेत गरेका छन् । राजनीतिले अहंकार थपिदिन सक्छ, धोका दिन सक्छ । प्रेममा धोका पाएकाहरूको भने मनको पीडा गीतले राम्ररी व्यक्त गर्छ । प्रेममा धोका पाएकाहरूका लागि अतित अति प्रिय हुन्छ । अतितलाई सम्झेर वर्तमानमा ज्युनु नै दिनचर्या हुन जान्छ ।बिर्सनेलाई सम्झीसम्झी मन उढी उतै जान्छकल्पनाले तान्दैतान्दै अतिततिर लान्छ । (भूतपूर्व मायालु, पृष्ठ ः ३७) हामी तर्सन्छौँ । प्राण प्रिय ठानेर नानाभाँती गछौँ । तर त्यही प्राणलाई जीवन्त राख्न भुसुक्कै भुल्छौँ । यसै सवालमा दार्शनिक ओशोको कथन छ– ‘मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? मर्यो ? तन्नेरी थियौ, अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।’ यसरी दुःख पनि छैन, मृत्यु पनि छैन । तसर्थ किन समुद्धशाली भएर यो दुःखको अध्यायको अन्त नगर्ने ? अब एउटा यस्तो अध्यायको कुरा गरौँ कि जुन अध्याय हामीले कहिल्यै सुरुवात गर्नै पाएका थिएनौँ । त्यस्ता अध्याय सुरु गर्नेहरू विश्वमा औँलामा गन्न सकिने अवस्थामा छन् । उनीहरूलाई दुनियाँ जगत्को लोभ–लालच, ईष्र्या–द्धेष, अहंकार–पाखण्ड आदित्यादिको त्यत्रो प्रवाह छैन । जरुरतको महसुस पनि छैन । श्रम नै ईश्वर हो, सुख हो, शान्ति हो, कान्ति हो र जीवनको सम्पूर्णता हो । यही र यस्तै भावनाले ओतप्रोत छन् उनीहरू । ईष्र्या र अहंकार कुन चरीको नाम हो त्यस पुस्ताले बिर्सेको छ । ‘पुरुष एक प्रकारको सतह हो, जहाँ सक्रियता छ, आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो, जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ, स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु, स्त्री केन्द्रमा छ, पुरुष परीधिमा छ ।’ भन्ने दार्शनिक ओशो कथन सम्झदै पुरुषस्त्री दुबैको देनबाट नै हामी समृद्धशाली बनेर आफ्नो गन्तब्यमा पुग्न सक्छौँ । हुनुपर्ने हो यस्तो तर विदेशी सागरको मोती खोज्दा विचल्नीमा पर्नु परेको यथार्थ हाम्रा सामु छ ।
बीच बाटोमा नै हराएँछु क्षितिज पर जान खोज्दा
विचल्नीमा परेँ म त सागरको मोती रोज्दा । (आफूभन्दा प्यारो माया, पृष्ठ ः ३६)
यस्तै मनोकांक्षा बोकेका गीतकार केदार श्रेष्ठ ‘गगन’ ‘क्षितिज पर’ गीत संग्रहमा दूरदृष्टि राख्न पनि पछि परेका छैनन् । आशे मनस्थिति बनाउँने क्रममा उदाहरणका लागि धेरै शब्दहरू लाइनमा रहलान्, लामबद्ध होलान् । अब भने शब्दको विस्कुन आफ्नै माटोमा फिँजारूँ । हाम्रो साझा इच्छा र आकांक्षाको गन्तव्यपथ पत्ता लगाऔँ । त्यस पछि भने एउटा सूर्य जन्माऔँ, जसले विश्वमा चमत्कार थपोस् । विश्व नै धन्य, धन्य बनोस् । आभार प्रकट गर्न वाध्य बनोस् । नरमुण्ड माला लगाएर सिंहनाद गरिरहेका मानवको रूपमा देखिएका दानवहरू तीनमुर्छा परून् र पुनः त्यही रूपमा कहिल्यै जागा नहून् । व्युँझाइ हुन्छ नै भने सक्कली मान्छेका रूपमा व्युँझाइ होस् । त्यस्तो इतिहास रचियोस्, जुन इतिहास आजसम्म रच्नै पाइएको छैन । त्यस्तो यात्रा बनोस्, जुन यात्रा आजसम्म कल्पनामा मात्र सीमित छ । त्यस्तो गन्तव्य बनोस्, त्यस्तो गन्तव्यको यात्रा आजसम्म किटान गरिएकै छैन । त्यो सूर्र्यको तेजले संसारका दुष्ट्याइँ पारखीहरूका गालामा थप्पड जाओस् । इमान र जमान हुनेहरूका मनमा उत्साह र उमङ्ग अझ उम्रियोस् । विग्रेकाहरू सप्रून्, सप्रेकाहरू मौलाऊन् । निधाएकाहरू जागून्, जागेकाहरू ठम्ठम्ती प्रगतिपथमा लागून् । त्यस सूर्यले असल मनमा आश उमारोस्, कलुषित मनमा त्रास उमारोस् । एक हितपछि अर्को हित देखियोस् । एक सुख पछि अर्को सुख देखियोस् । सच्चा पाखुरीको कदर होस्, सच्चा मनलाई पक्का बनाओस् । भद्दा मनलाई उत्साहित हुने दबाई खुवाओस्, कालो मनलाई सजायको दायरामा राखोस् । सप्रने मनलाई सपारोस्, नसप्रनेलाई दवाको दवाई पारोस् । कानूनको दूरदृृष्टि सर्वत्र फैलाओस् । इमान्दारी र परिश्रमी हातहरू चुमोस्, गद्दारी र अप्रिय पाइलाहरू सदाको लागि मेटाओस् । यसरी समृद्ध नेपाल बनोस् र गर्वले छाती ढक्क फुलाउँदै विश्वमा शिर उच्च पार्न पाएयोस् । यस्तै मनोकांक्षाले कलम चलाउन जागरुक युवा गीतकार केदार श्रेष्ठ ‘गगन’ को ‘क्षितिज पर’ २०६५ मा प्रकाशित गीत संग्रह भएको भए पनि ‘जिन्दगीका अनुभूतिहरू’ र ‘सपनाको संसारबाट नियाल्दा’ नाम गरेका अरू दुई कविता र गीत संग्रह प्रकाशन भइसकेका छन् । कठोर जीवनको अनुभूतिबाट जन्मेका कोमल शब्दहरूको माला उन्ने गतिलो प्रयास गीतकारबाट भएको छ । जति पीडा, दुःखका क्षणहरू जन्मन्छन् ती सबै कुरूप राजनीतिले जन्माएको हो । विशेष गरी मायाको संसारका कुरा समेटिएको ‘क्षितिज पर’ गीति संग्रह राजनीतिकै उपज हो । स्वदेशमा नै रोजगार पाइने हो भने विदेसिएर किन विरह र व्यथा समेट्ने अवस्था आउँथ्यो ? ‘त्यहीँ (विदेशमा) भोगेका, देखेका र सुनेका कुराहरूलाई मैले सर्लक्क जस्ताको तस्तै पोख्ने प्रयास गरेको छु, गीतका अवयवहरू प्रयोग गरेर’ भनेर गीतकारले किन भूमिकामा लेख्नुपथ्र्यो ? यसरी विशेष गरी गीत र कविता विधामा सशक्तरूपले कलम चलाउँदै आएका स्रष्टा केदार श्रेष्ठ ‘गगन’ बलियो कलम बनाउन उन्मुख साहित्यकारका रूपमा देखिएका छन् ।

Sunday, February 21, 2010

गीत

किन आउँछ यादहरु दुःखी मन रुवाउन
सहारा कोही भेटिन रोको मन बुझाउन ।

निर्दयी भइ रोइ हिड्ने किन बनायौ
पाप के गरेको थिएँ र यो सजाय दियौ
लाग्न थाल्यो जीवनमा खुसीभन्दा आँसु बढी
मीलन नभइ मरन भनि लेख्या मेरो छ कि ।

हात समाइ देउता भाकि कति कसम खान्थ्यो
कति राम्रो जोडी हाम्रो धन्य ईश्वर भन्थ्यो
वाचा कसम खाएका ती एकादेशको कथा भयो
हाम्रो यात्रा सँगै भन्थ्यो तर एक्लै छाडी गयो ।

Monday, February 15, 2010

गीत

तिमी जून हौ मेरो घाम हौ
दुई मुटु तर एउटै ज्यान हौ ।

आँखामा के गाँजल लगायौ
होस मेरो चयन हरायौ
उड्यो तिमीसँगै मेरो मन
कस्तो रुप लिई आयौ भन
जति हेर्यो हेरिरहूँ झन ।

नलजाई मेरो छेउ आइदेऊ
नछुट्ने कसम खाइदेऊ
तिमीसँगै हुन्छ मेरो मन
मेरो कुरा बुझिदेऊ मायालु
सुम्पिदिएँ यो जिउज्यान धन

Tuesday, February 9, 2010

गीत

कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी
बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी ।

मन मेरो सँगै छ,शरीर टाढा भए पनि
निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि
नसोचेको हुँदो रहेछ,भयौँ टाढा कसो गरी ?
बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी ।

आशको दीप बाली राख्नू,आउला म फर्किएर
पापी मन नडुलाउनू,बस्नु मलाई पर्खिएर
एकान्तमा एक्लै बसी,नरुनू है धर धरी
बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी ।

Sunday, February 7, 2010

गीत

मलाई भुलि गुनको मात्र कुरा गर्छौ किन ?
वाँसुरीलाई बिर्सिएर धुनको कुरा गर्छौ किन ?

मन आज भागिहिड्छ आफैँलाई बिर्सिएर
छायाँ किन तर्किदिन्छ आफैँसँग तर्सिएर
माया भन्दा सुनको गुनगान गाउँछौ किन ?
वाँसुरीलाई बिर्सिएर धुनको कुरा गर्छौ किन?

सपनाहरु झरिगए ओइलाएको फूलसँगै
फुल्ने रहर मेरो पनि पूर्णिमाको जूनजस्तै
बास्ना छाडि फूलको मात्र बयान गर्छौ किन ?
वाँसुरीलाई बिर्सिएर धुनको कुरा गर्छौ किन ?

Monday, February 1, 2010

गीत




















जूनको वयान के गरुँ तिम्रो रुप हेरी
एकपल्ट मुस्काइ देऊ न दन्त लहर खोली ।

कसकी छोरी हौ भन आउछु हात माग्न
ज्यान गए छाड्दिन म थालेँ पछि लाग्न
फूलहरुले ईश्र्या गर्लान् तिम्रो रुप हेरी
एकपल्ट मुस्काइ देऊ न दन्त लहर खोली ।

वयान गर्ने शब्द छैन हिस्सी परेकी
माया गरी बोलाउदा किन नबोलेकी
लट्ठै परेँ म त हजुर तिम्रो रुप हेरी
एकपल्ट मुस्काइ देऊ न दन्त लहर खोली ।

Monday, January 25, 2010

गीत

सागर रहेछ मन पीडा अट्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।

बहकिए मन त्यसै नसकिने हाँस्नलाई
पीडा बढेँ मन भित्र गाह्रो हुने बाँच्नलाई
मन रोए आँखाबाट आँसु झर्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।

फूल हाँस्दा आँसु झर्ने मन दुःखी हुँदा
जीवन जिउँन साह्रो हुने मन सधैँ रुँदा
दुःखी हुँदा मन कुरा खेल्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।