Saturday, May 29, 2010

गेडी लेख्ने दोश्रो प्रयास

गेडी १.
के भो कुन्नी ए नि लै,चढ्यो लाली ओठमा
दिल बस्यो ए नि लै,माया कालो कोटमा
तनमा,
बसी गयौ,मेरो मनमा ।

गेडी २.
व्यथा फेरि बल्झेर,दिन काट्न गाह्रो भो
मया सधैँ सम्झेर,बाँच्नलाई साह्रो भो
छायाँले,
रोगी भा’छु,तिम्रै मायाले ।

गेडी ३.
थपी म्याद यिनले,मोज गर्छन् संसद्मा
होली खेल्छन् यिनले,सहीदको रगत्मा
जाग्ला है,
सहीदको,आँसु लाग्ला है ।

गेडी सम्बन्धि केहि सामान्य नियमहरु :-

गेडी" प्रतिपादक खगेन्द्र पन्धाक लिम्बू(चुम लिम्बू) ज्यूले तयार पार्नु भएको गेडी सम्बन्धि केहि सामान्य नियमहरु :-




१.प्रथम र दोश्रो पदलाई कथन भनिन्छ
२.प्रथम पदलाई कथन 'क' भनिन्छ l(बिषय बस्तुको कथन हुन्छ l)
३. दोश्रो पदलाई कथन 'ख' भनिन्छ ll(बिषय बस्तुको कथन हुन्छ l)
४.तेश्रो पदलाई थेगो भनिन्छ l
५.अन्तिम(चौथो) पदलाई बिट भनिन्छ l

६.सुत्रगत संरचना :-
४+३+४+३=१४
४+३+४+३=१४
३=३
४+५=९
७.प्रथम र दोश्रो पदमा गजलको काफिया र रदीफ जस्तो लय र यमकको निमित्त अनुप्रास मिल्नु पर्दछ l
८.तेस्रो पदले भावको मूल मर्ममा बस्नु पर्दछ l
९.तेश्रो र अन्तिम पदको अनुप्रास मिल्नु पर्दछ l
अन्तिम पदले भावको सम्पूर्णतालाई बोकेर चोटिलो निस्कर्ष दिनु पर्दछ l

उदाहरणको लागि....

गेडी (१)

नलाए नि चौबन्दी, मनमा राख नेपाल । = कथन "क"
ढाका टोपी लाएर, चन्द्र सूर्य उचाल । =कथन "ख"
साथी हो, = "थेगो"
सबै भन्दा देश माथि हो । = "बिट"

गेडी (२)

चौबन्दिको आठ्तुना बिनायो छ छातीमा
मायासँग साटेको सञ्जिवनी पातीमा
ओँठैमा
साटेको हो चौँरी गोठैमा ।

गेडी (३)

दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु,मन्को मूलैमा

Sabhar:Manu Loharungko Facebook Profilebata.

Friday, May 28, 2010

हिरा मोति

हिरा मोति जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई
सम्झी ल्याउदा आँसु खस्छ भुइँमा बररर ।

विदेशमा बसेको छ साथीभाइले भन्लान्
झिलिमिली रमितामा रमाएको ठान्लान्
विरहमा रुँदा यहाँ कसले सोध्ने मलाई
सुन चाँदी जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई ।

नपाइँने पराई देशमा पसिनाको मोल
खाकै राम्रो आफ्नै देशमा गुन्द्रुकको झोल
बस्नु पर्ने रै’छ बरु आफ्नै देश बनाई
सुन चाँदी जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई ।

Wednesday, May 26, 2010

'गेडी'

गेडी'१.
कैले देखि मनमा बस्यौ,मुटु बनेर ?
माया साँची राखेको तिम्रै,लागि भनेर
ठानेर,
बसिरै’छु,दिन गनेर ।

गेडी'२.
बेची खाए देशको नाम,मै हु भन्नेले
दादागिरी गर्छन यहाँ,शेर ठान्नेले
आकोछ,
जाग्नु पर्ने,बेला भाकोछ ।

गेडी'३.
बुद्ध पनि रुन्छन यहाँ,दुःखी बनेर
मान्छे मार्न बस्छन यहाँ,खाल्टो खनेर
वनमा,
सती गए,मान्छे धनमा ।

Tuesday, May 25, 2010

बगिजाने पानी

यस्तै रै’छ जिन्दगानी बगिजाने पानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

राम्रो जति सबै कुरा यस्तै हुन्छ क्यारे
हाँसी–हाँसी रुवाएर छाडी जान्छ क्यारे
लट्ठै पार्ने फूलको रुप जूनको उस्तै बानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

झर्नै पर्ने भएदेखि किन वागमा फुल्नु ?
अस्ताई जानु थियो भने किन मनमा डुल्नु ?
यस्तै रै’छ जिन्दगानी बगिजाने पानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

Thursday, May 20, 2010

पीरको भारी

पहाडजस्तै अग्लो भयो पीरैपीरको भारी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।

दुःखियाको कर्मै खोटो रुँदै बाँच्नु पर्ने
ओइलिएको पात रहेछु पलपल मर्नु पर्ने
खडेरी नि खपेकै छु त्यस्तै मुसलधारे झरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।

जहाँ जान्छु आफ्नो दुःख जान्छ आँफैसँग
आँफैसँग लुक्दै भाग्दै कहाँ जाऊँ म अन्तै
निराशाले थिच्दै जान्छ वाँच्दा मरी–मरी
कटाइदेला कसले राजै दुःख डाँडापारी ।

स्वर-सुवाश पराजुली
संगीत-रोशन शाही

Saturday, May 15, 2010

परदेश

आटोपीठो मीठै हुन्थ्यो खान्थ्यौ हाँसी–हाँसी
परदेश लागेँ कमाउन खुशी बन्धक राखी ।

अलिकति रहर मेरो धेरै कमाउने
कमाएर फर्की आइ सँगै रमाउने
दुःख पनि सुख हुन्थ्यो सँगसँगै हुँदा
नरोऊ भन्ने कोही छैन परदेशमा रुँदा ।

ज्यान टाढा भए पनि उनकै याद मनमा
कस्तो राक्षस पस्यो मनमा मन गयो धनमा
सम्झी–सम्झी भक्कानिदै रुन्छु घरि–घरि
छायाँ बनि उनको तस्वीर घुम्छ वरिपरी ।

Tuesday, May 11, 2010

सानो छदा

सानो छदा सधैँ आमा आशिष मलाई दिन्थिन्
मुहार मेरो हेरी–हेरी पीर ब्यथा भुल्थिन् ।

हुर्के बढे सन्तान सबै लाखापाखा लागे
आफैँ–आफैँ झगडा गरी लडाई गर्न थाले
भन्थिन आमा दाजुभाइ मिलि सधैँ बस्नू
घरपरिवार,गाउँ अनि देशको इज्जत राख्नू ।

सानो थियो घर हाम्रो सुखी परिवार
कुन बैरीको आँखा लाग्यो बिग्रयो घरबार
बारम्बार भन्थिन् आमा नाम कमायस् वावु
जहाँ गए’नि साथीभाइ असल छिमेक छान्नू ।

Thursday, May 6, 2010

जून निदाएको बेला

(प्रकाशोन्मूख कृति)
विधा-गीत संग्रह
लेखक-केदार श्रेष्ठ 'गगन'
चित्र- खगेन्द्र पन्धाक लिम्बू
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला
बाँसुरी त्यो रुन्छ सधैँ धुन निदा'को बेला ।

भाग्य कसो फिर्ने छैन फर्किन्छ रे खोला
आशैआशमा बाँच्नु पर्ने कस्तो भाग्य होला ?
उजाड हुन्छ वाग सधैँ फूल निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।

मिलि काम गरे हुन्छ देशको उन्नति
उठौँ,जागौँ,जुटौँ अब गरौँ आफ्नो प्रगति
मृत हुन्छ शरीर सधैँ खुन निदा'को बेला
औँसी हुन्छ रात सधैँ जून निदा'को बेला ।

Monday, May 3, 2010

ताराभरि

ताराभरि पाउँछु तिमीलाई उसैगरी जूनमा
गीत गाउँछु तिमी नै छौ त्यसैगरि धुनमा ।

अन्जान मै माया बस्यो कतिसाह्रो गाढा
मन भित्र गढ्या माया नहुने है टाढा
जहाँ जान्छु उहीँ पाउँछु साथ मै तिम्रो छायाँ
नछुटिने, नमेटिने कस्तो तिम्रो माया ।

आकाशमा लाखौ तारा तिमी एक हौ जून
बादल बनि आइदिऊ कि तिमीलाई छुन
उड्छ मन कल्पनामा सिमलको भुवाजस्तै
तिमी मै हराई जान्छु आगोको त्यो धुवाजस्तै ।