Sunday, June 27, 2010

दोसाधमा

घामपानीको दोसाधमा पर्‍यो ईन्द्रेनी
घामपानी जस्तै रैछ हाम्रो जिन्दगानी ।

कहिले उराठ खडेरी त कहिले पर्ने झरी
नरोकिने बग्छ सधैं पानी बगेसरी
बसमा राख्न नसकिने आफ्नै जीवन पनि

पुग्ने रहर सबको हुन्छ सगरमाथा शीरमा
पापी हावा आइदिन्छ पुर्याइदिन्छ तीरमा
सोचेजस्तो हुन्न रैछ आफ्नै जीवन पनि

Wednesday, June 16, 2010

सपनीमा देखेँ आज

सपनीमा देखेँ आज गाउँ मै भएको
कान्छी सँगै घाँस,दाउरा,मेला गएको ।

आँगनभरि मखमली,वेली फुलेको
लहलह धानको बाला खेतमा झुलेको
साद्या गुन्द्रुक,मकै,भटमास,मोही खाएको
कान्छी सँगै घाँस,दाउरा,मेला गएको ।

उस्तै थियो घाम,जून उस्तै गाउँघर
सोध्दै थियो चौतारीको पीपलु र वर
धेरै पछि देखेँ आज गाउँमै भएको
कान्छी सँगै घाँस,दाउरा,मेला गएको ।

Tuesday, June 8, 2010

यस्तै बेला

यस्तै बेला हिड्थ्यौँ हामी सधैँ रमाउँदै
माया गरी एकअर्काको हात समाउँदै ।

अमला र वयर खाँन्थ्यौ मीठो मानीमानी
कांचो छोडी पाकेको नै, खान्थ्यौ छानीछानी
माया हाम्रो देखी भाग्थ्यो हावा सर्माउदै

तिनै कुरा याद आउँदा लाग्छ कथा आज
कुन पापीले श्राप दियो बन्यो ब्यथा आज
छेउमा बस्ने कोही छैन मलाई सम्झाउँदै

आँसुसँगै

आँसुसँगै खुसी सबै बगि गयो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

फुलेको फूल देख्दा ईश्र्या मलाई लाग्छ
विरसिलो जीवनदेखि टाढा भागूँ लाग्छ
भमरा झैँ रस चुसी भागि गयो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

छातीभित्र उर्लि आयो वेदनाको भेल
घाउमाथि नुन छर्ने कस्तो हो यो खेल
खुसी फुल्ने मनभित्र आँसु भरियो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

Friday, June 4, 2010

घुम्टो ओढेर

गयौ तिमी पराईको घुम्टो ओढेर
खाएका ती बाचा कसम सबै तोडेर ।

अँध्यारो छ चारैतिर लाग्छ बिरानी
रात जान्छ रोइ–रोइ भिज्दै सिरानी
किन गयौ पराई भई मलाई छोडेर ?
खाएका ती बाचा कसम सबै तोडेर ।

टाढा हुँदा सम्झिएर सधैँ तिमी रुन्थ्यौ
बाँच्न भयो गाह्रो तिमी बिना भन्थ्यौ
तर आज गयौ किन ? मलाई छोडेर
खाएका ती बाचा कसम सबै तोडेर ।

हाँस्दा बोल्दा

नगरे’नि माया मलाई,हाँस्दा बोल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

दिनमा रोए पनि जून,रातमा हाँस्ने गर्छ
वादलसँग आकाशमा प्रीति गाँस्ने गर्छ
हाँसे,बोले पीडा पग्ली मन हल्का हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

फूल हेर वाधा पन्छाइ सधैँ फुलिदिन्छ
काडाँहरु बिचमा पनि सधैँ हाँसी दिन्छ
मन भए मेरो मनमा,तिमी डुल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

Tuesday, June 1, 2010

केही गेडीहरु:

गेडी १.
सुत्छु सधैँ राखेर,तिम्रो फोटो सिरानी
भिडभाड भए नि,किन लाग्छ विरानी
धोको छु,
तिम्रै याद्मा,तड्पी रोको छु ।

गेडी २.
कति खुशी तिमी त,चोखो माया छुट्दा नि
हेरी बस्छौ हाँसेर,मेरो इज्जत् लुट्दा नि
जाँचेर,
के अर्थ भो,तिमी वाँचेर ?

गेडी ३.
छाडी गयौ खै किन,मैले माया लाए नि
घात गर्यौ तिमीले,जति कसम् खाए नि
मारेर,
भुलि गयौ,एक्लै पारेर ।