Wednesday, December 22, 2010

डुबि जाने जून

के गुन गाउँ खै वैली झर्ने फूलको ।
के भर भयो अब डुबि जाने जूनको ।

देख्दा क्षितिजमा आश जागि आउँछ
धर्तीलाई पर्खाएर आफू भागि जान्छ
झुक्याएर हिड्ने यो कस्तो खेल हो ?
आँखा सधैँ वर्षा यामको भेल भयो ।

बसेको छौ आकाशको जूनतारा सँगै
बाँचेको छु म तिमी आउने दिन गन्दै
भन्देऊ बादल भेट्यौ भने आकाशलाई
पठाकोथेँ खबर मैले पापी बतासलाई ।

कुरी रहेँ

तिमी आउने बाटो हेर्दै दोबाटोमा कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

जाने बेला भनेकीथ्यौ देउरालीमा तिमी बस्नू
झिसमिसेमा भागी आउछु त्यही मलाई पख्नू
रातदिन बाटो हेर्दै बाटो तिम्रो कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

आउँदा-आउँदै गोरेटोमा बाटो कतै भुलियो कि ?
खेल्दा–खेल्दै कुरा मनमा मनै फेरियो कि ?
अनेक तर्क गर्दै मनमा बाटो तिम्रो कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

मुटुभित्रै

मुटुभित्रै बसेकी छौ कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

कस्तो काँडा बिज्यो मनमा झिकूँ भन्दा झनै गड्छ
कस्तो माया रै’छ तिम्रो बिर्सू भन्दा झनै बढ्छ
ढुकढुकीमा छौ तिमी कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

हाँसो खुशी दिन्छु भन्यौ तर मलाई लुटी गयौ
जीवनभरि मलाई रुवाई आफू भने खुशी भयौ
आफैँ भन्दा प्यारो लाग्छ कसोगरी जाली भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

स्वर-तारा लक्षम
संगीत-नरहरि प्रेमी
एल्वम-मखमली चोली

गीत

सासै फेर्न गार्हो पारी किन दुख्छ छाति ???
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

कैले लाग्छ खाग बनाई मुटु जलाई दिउँ कि
हावासँगै उडाएर डाँडा कटाई दिउँ कि
न दिनमा हाँस्न सक्छु न त सुत्न राती
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

उडिरन्छ सधैँ किन ?? मन छैन थीरमा
हिड्दा-हिड्दै गोरेटोमा पुगेँ तारे भीरमा
राप बढ्दै मन भित्र किन दुख्छ छाती ?
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।