Saturday, June 18, 2011

टेक्छौ हामी एउटै धर्ती

टेक्छौ हामी एउटै धर्ती ओढ्छौ एउटै आकाश
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

भोक लाग्दा खाने हात हिंड्ने खुट्टा एकै
सबै हामी बराबरी हाम्रो पुर्खा एउटै
फूलको रुप अनेक हुन्छ छर्छ उस्तै सुबास
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

छाती भित्र मुटु चल्छ बग्छ रगत रातै
अनी किन भेदभाब गर्नु अन्त्य गरौ आजै
धनी होला कोही गरीब एउटै हाम्रो जात
एकजुट भई अघी बढौ मिलाएर हात ।

Saturday, June 11, 2011

जिन्दगीमा किन आउँछ

जिन्दगीमा किन आउँछ दुःख घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

पुग्नु पर्ने शिखरमा जाँदै थिएँ उँभोतिर
भुमरीमा पर्यो जीवन बग्दै गएँ उँधोतिर
सम्झी ल्याउँदा ब्यथा मनमा आउँछ भेल बनि
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

जति काट्छु दुःखको तार झन्झन् बढ्छ दुःख
मेरो भागमा छैन क्यारे यो जुनीमा सुख
जहाँ जान्छु त्यही आउँछ दशा घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

संगीत-रोशन शाही
स्वर-महेश सेवा 

आँखाभरि आँसु बोकी

आँखाभरि आँसु बोकी कसरी म हाँसु
तस्वीर हेरी कसरी म यो दिल वसमा राखु ।

चिठीपत्र खबर पनि पठाउँदैनौ प्यारा
उराठ,उजाड लाग्छ सबै गाउँ वेंसी सारा
तड्पिएर सधैँभरि कसरी म बाँचु
तस्वीर हेरी कसरी म यो दिल वसमा राखु ।

आकाशको जून देख्दा तिम्रै झल्को आउँछ
फूल देख्दा यो मनमा तिम्रै सुवास छाउछ
पूर्णिमाको जूनसँग तिमी मलाई दाज्थ्यौ
मेरै निम्ति मन्दिर गई देवी देउता भाग्थ्यौ ।

Wednesday, June 8, 2011

खडेरीको वनजस्तो

जलि रै'छ मन मेरो खडेरीको वनजस्तो
अगेनाको ओदान भएँ बिधुवाको मनजस्तो ।

आगो बिनै जल्दो रै'छ पीडा भए मनभित्र
सबै भन्दा प्यारो लाग्ने के छ कुन्नी धनभित्र
मनको ढोका बन्द थियो तिमी आइ खोल्यौ
बाचा कसम पहिले गरी पछि आफैँ तोड्यौ ।

पिइ पिडा भुलौ भने छैन मेरो पिउने वानी
मनको आगो निभाउने पाइन मैले कतै पानी
जाने भए यादहरु सबै मेटी तिमी जाऊ
सपनीमा आइ तिमी मलाई सधैँ नसताऊ ।

Saturday, June 4, 2011

वैँश लागेर हो कि ??

रक्सी पिए झैँ मातेकी छौ वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

आफ्नो रुप आफैँ हेरी आफैँसँग लजाउँछौ
लुकीलुकी हेरी सधैँ आँखा तिमी जुधाउँछौ
सिङ्गार पटार साह्रै गर्छौ वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

कोही चाहे झैँ केही खोजे झैँ लाग्छ तिम्रो आँखा
बुझेर नि नबुझिने खै कस्तो अनौठो भाका
साह्रै सुन्दर देखिन्छौ अचेल वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

म प्यासी छु

म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।


तिम्रो अधर पिइरहूँ प्याला भरिभरी
यस्तो लाग्छ तिम्रो नजर चुमिरहूँ घरिघरी
पत्थरमा तिमी हिरा हौ सागरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।


मान्छे एक चाहना अनेक रुप थरीथरी
पुतलीझैँ झुम्मिएका छन् तिम्रै वरिपरी
तिमी स्वप्न सुन्दरी यो सहरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।