Tuesday, June 8, 2010

आँसुसँगै

आँसुसँगै खुसी सबै बगि गयो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

फुलेको फूल देख्दा ईश्र्या मलाई लाग्छ
विरसिलो जीवनदेखि टाढा भागूँ लाग्छ
भमरा झैँ रस चुसी भागि गयो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

छातीभित्र उर्लि आयो वेदनाको भेल
घाउमाथि नुन छर्ने कस्तो हो यो खेल
खुसी फुल्ने मनभित्र आँसु भरियो कि ?
निष्ठुरीले पीडा सबै छाडि गयो कि ?

Friday, June 4, 2010

घुम्टो ओढेर

गयौ तिमी पराईको घुम्टो ओढेर
खाएका ती बाचा कसम सबै तोडेर ।

अँध्यारो छ चारैतिर लाग्छ बिरानी
रात जान्छ रोइ–रोइ भिज्दै सिरानी
किन गयौ पराई भई मलाई छोडेर ?
खाएका ती बाचा कसम सबै तोडेर ।

टाढा हुँदा सम्झिएर सधैँ तिमी रुन्थ्यौ
बाँच्न भयो गाह्रो तिमी बिना भन्थ्यौ
तर आज गयौ किन ? मलाई छोडेर
खाएका ती बाचा कसम सबै तोडेर ।

हाँस्दा बोल्दा

नगरे’नि माया मलाई,हाँस्दा बोल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

दिनमा रोए पनि जून,रातमा हाँस्ने गर्छ
वादलसँग आकाशमा प्रीति गाँस्ने गर्छ
हाँसे,बोले पीडा पग्ली मन हल्का हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

फूल हेर वाधा पन्छाइ सधैँ फुलिदिन्छ
काडाँहरु बिचमा पनि सधैँ हाँसी दिन्छ
मन भए मेरो मनमा,तिमी डुल्दा हुन्छ
किन राख्नु पीडा मनमा,ब्यथा खोल्दा हुन्छ ।

Tuesday, June 1, 2010

केही गेडीहरु:

गेडी १.
सुत्छु सधैँ राखेर,तिम्रो फोटो सिरानी
भिडभाड भए नि,किन लाग्छ विरानी
धोको छु,
तिम्रै याद्मा,तड्पी रोको छु ।

गेडी २.
कति खुशी तिमी त,चोखो माया छुट्दा नि
हेरी बस्छौ हाँसेर,मेरो इज्जत् लुट्दा नि
जाँचेर,
के अर्थ भो,तिमी वाँचेर ?

गेडी ३.
छाडी गयौ खै किन,मैले माया लाए नि
घात गर्यौ तिमीले,जति कसम् खाए नि
मारेर,
भुलि गयौ,एक्लै पारेर ।

Saturday, May 29, 2010

गेडी लेख्ने दोश्रो प्रयास

गेडी १.
के भो कुन्नी ए नि लै,चढ्यो लाली ओठमा
दिल बस्यो ए नि लै,माया कालो कोटमा
तनमा,
बसी गयौ,मेरो मनमा ।

गेडी २.
व्यथा फेरि बल्झेर,दिन काट्न गाह्रो भो
मया सधैँ सम्झेर,बाँच्नलाई साह्रो भो
छायाँले,
रोगी भा’छु,तिम्रै मायाले ।

गेडी ३.
थपी म्याद यिनले,मोज गर्छन् संसद्मा
होली खेल्छन् यिनले,सहीदको रगत्मा
जाग्ला है,
सहीदको,आँसु लाग्ला है ।

गेडी सम्बन्धि केहि सामान्य नियमहरु :-

गेडी" प्रतिपादक खगेन्द्र पन्धाक लिम्बू(चुम लिम्बू) ज्यूले तयार पार्नु भएको गेडी सम्बन्धि केहि सामान्य नियमहरु :-




१.प्रथम र दोश्रो पदलाई कथन भनिन्छ
२.प्रथम पदलाई कथन 'क' भनिन्छ l(बिषय बस्तुको कथन हुन्छ l)
३. दोश्रो पदलाई कथन 'ख' भनिन्छ ll(बिषय बस्तुको कथन हुन्छ l)
४.तेश्रो पदलाई थेगो भनिन्छ l
५.अन्तिम(चौथो) पदलाई बिट भनिन्छ l

६.सुत्रगत संरचना :-
४+३+४+३=१४
४+३+४+३=१४
३=३
४+५=९
७.प्रथम र दोश्रो पदमा गजलको काफिया र रदीफ जस्तो लय र यमकको निमित्त अनुप्रास मिल्नु पर्दछ l
८.तेस्रो पदले भावको मूल मर्ममा बस्नु पर्दछ l
९.तेश्रो र अन्तिम पदको अनुप्रास मिल्नु पर्दछ l
अन्तिम पदले भावको सम्पूर्णतालाई बोकेर चोटिलो निस्कर्ष दिनु पर्दछ l

उदाहरणको लागि....

गेडी (१)

नलाए नि चौबन्दी, मनमा राख नेपाल । = कथन "क"
ढाका टोपी लाएर, चन्द्र सूर्य उचाल । =कथन "ख"
साथी हो, = "थेगो"
सबै भन्दा देश माथि हो । = "बिट"

गेडी (२)

चौबन्दिको आठ्तुना बिनायो छ छातीमा
मायासँग साटेको सञ्जिवनी पातीमा
ओँठैमा
साटेको हो चौँरी गोठैमा ।

गेडी (३)

दु:ख सुख खेपेर,चल्दै जाने जिन्दगी
किन पार्नु मनैको, इच्छाहरु बन्धकी
फूलैमा,
सुख खोज्छु,मन्को मूलैमा

Sabhar:Manu Loharungko Facebook Profilebata.

Friday, May 28, 2010

हिरा मोति

हिरा मोति जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई
सम्झी ल्याउदा आँसु खस्छ भुइँमा बररर ।

विदेशमा बसेको छ साथीभाइले भन्लान्
झिलिमिली रमितामा रमाएको ठान्लान्
विरहमा रुँदा यहाँ कसले सोध्ने मलाई
सुन चाँदी जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई ।

नपाइँने पराई देशमा पसिनाको मोल
खाकै राम्रो आफ्नै देशमा गुन्द्रुकको झोल
बस्नु पर्ने रै’छ बरु आफ्नै देश बनाई
सुन चाँदी जे जोडे नि परदेशमा कमाई
के को बस्न सकिन्थ्यो र हाँसी खुशी रमाई ।

Wednesday, May 26, 2010

'गेडी'

गेडी'१.
कैले देखि मनमा बस्यौ,मुटु बनेर ?
माया साँची राखेको तिम्रै,लागि भनेर
ठानेर,
बसिरै’छु,दिन गनेर ।

गेडी'२.
बेची खाए देशको नाम,मै हु भन्नेले
दादागिरी गर्छन यहाँ,शेर ठान्नेले
आकोछ,
जाग्नु पर्ने,बेला भाकोछ ।

गेडी'३.
बुद्ध पनि रुन्छन यहाँ,दुःखी बनेर
मान्छे मार्न बस्छन यहाँ,खाल्टो खनेर
वनमा,
सती गए,मान्छे धनमा ।

Tuesday, May 25, 2010

बगिजाने पानी

यस्तै रै’छ जिन्दगानी बगिजाने पानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

राम्रो जति सबै कुरा यस्तै हुन्छ क्यारे
हाँसी–हाँसी रुवाएर छाडी जान्छ क्यारे
लट्ठै पार्ने फूलको रुप जूनको उस्तै बानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।

झर्नै पर्ने भएदेखि किन वागमा फुल्नु ?
अस्ताई जानु थियो भने किन मनमा डुल्नु ?
यस्तै रै’छ जिन्दगानी बगिजाने पानी
झुक्किएको रै’छु म त आँफै जानीजानी ।