Wednesday, December 19, 2012

मलाई छाडी गयौ

केटा-जीवन मेरो उराठ बनाई मलाई छाडी गयौ
केटी-बिन्ति मलाई दोष नदेऊ बाध्यताले टाढा भयौँ ।

केटी-मन थिएन छाडी जाने समयले टाढा पार्यो
      बाध्यतालाई बुझिदेऊ नियतिले गर्नु गर्यो ।
केटा-मन थिएन नाता गाँस्न नियतिलाई दोष दिन्छौ
      बाध्यतालाई दोष दिएर तिमी आफू चोखो हुन्छौ ।

केटी-सक्छौ भने माफ देऊ श्राप नदेऊ यो बैगुनीलाई
       भुल्न सक्छौ भुलिदेऊ माया यो निष्ठूरीलाई ।
केटा-आफ्नै मुटु धड्कनलाई श्राप दिन सकुँला र ?
     यो ज्यान रहेसम्म तिमीलाई भुल्न सकुँला र ?

Tuesday, November 13, 2012

गीत

हाँसेकै छु मनमा पीडा आँखामा आँसु रोकेर
खुशी छौ तिमी भनेर नसोध मुटुमा झिर रोपेर ।

सपनाको महल भत्कियो बालुवाको घर जसरी
आँखामा आँसु,मनमा पीडा उर्लेर आउँछ उसैगरी
छेकिन्न रहेछ पीडाको आँसु हातले छेकेर
खुशी छौ तिमी भनेर नसोध मुटुमा झिर रोपेर ।


शिशा झैँ टुट्यो सम्बन्ध कसलाई दोष दिउँ म
जिउँदो लाश भएर अब कसरी जिउँ म
लेखेकै चाहिने रहेछ क्यारे हुन्न रहेछ देखेर
नसोध अब खुशी छौ भनि मुटुमा झिर रोपेर ।

Friday, December 2, 2011

गीत

धेरै पछि गाउँ फिरें सानु बिर्सेछ गाउँघरले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

गुराँस फुल्ने हरियो जंगल उजाड भएछ
गाई गोठ राख्ने शिखरे दमार पहिरोले लगेछ
कहिले आयौ शहरबाट सोधेनन् कसैले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

सुखी दिनको सपना साँचेर छोडियो घर देश
सोचेको जस्तो नहुँदो रैछ पराईको देश
घरको ढिडो गुन्द्रुक सम्झे आएँ म त्यसैले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

स्वर-प्रमोद खरेल
संगीत-टिका भन्डारी

Saturday, June 18, 2011

टेक्छौ हामी एउटै धर्ती

टेक्छौ हामी एउटै धर्ती ओढ्छौ एउटै आकाश
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

भोक लाग्दा खाने हात हिंड्ने खुट्टा एकै
सबै हामी बराबरी हाम्रो पुर्खा एउटै
फूलको रुप अनेक हुन्छ छर्छ उस्तै सुबास
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

छाती भित्र मुटु चल्छ बग्छ रगत रातै
अनी किन भेदभाब गर्नु अन्त्य गरौ आजै
धनी होला कोही गरीब एउटै हाम्रो जात
एकजुट भई अघी बढौ मिलाएर हात ।

Saturday, June 11, 2011

जिन्दगीमा किन आउँछ

जिन्दगीमा किन आउँछ दुःख घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

पुग्नु पर्ने शिखरमा जाँदै थिएँ उँभोतिर
भुमरीमा पर्यो जीवन बग्दै गएँ उँधोतिर
सम्झी ल्याउँदा ब्यथा मनमा आउँछ भेल बनि
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

जति काट्छु दुःखको तार झन्झन् बढ्छ दुःख
मेरो भागमा छैन क्यारे यो जुनीमा सुख
जहाँ जान्छु त्यही आउँछ दशा घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

संगीत-रोशन शाही
स्वर-महेश सेवा 

आँखाभरि आँसु बोकी

आँखाभरि आँसु बोकी कसरी म हाँसु
तस्वीर हेरी कसरी म यो दिल वसमा राखु ।

चिठीपत्र खबर पनि पठाउँदैनौ प्यारा
उराठ,उजाड लाग्छ सबै गाउँ वेंसी सारा
तड्पिएर सधैँभरि कसरी म बाँचु
तस्वीर हेरी कसरी म यो दिल वसमा राखु ।

आकाशको जून देख्दा तिम्रै झल्को आउँछ
फूल देख्दा यो मनमा तिम्रै सुवास छाउछ
पूर्णिमाको जूनसँग तिमी मलाई दाज्थ्यौ
मेरै निम्ति मन्दिर गई देवी देउता भाग्थ्यौ ।

Wednesday, June 8, 2011

खडेरीको वनजस्तो

जलि रै'छ मन मेरो खडेरीको वनजस्तो
अगेनाको ओदान भएँ बिधुवाको मनजस्तो ।

आगो बिनै जल्दो रै'छ पीडा भए मनभित्र
सबै भन्दा प्यारो लाग्ने के छ कुन्नी धनभित्र
मनको ढोका बन्द थियो तिमी आइ खोल्यौ
बाचा कसम पहिले गरी पछि आफैँ तोड्यौ ।

पिइ पिडा भुलौ भने छैन मेरो पिउने वानी
मनको आगो निभाउने पाइन मैले कतै पानी
जाने भए यादहरु सबै मेटी तिमी जाऊ
सपनीमा आइ तिमी मलाई सधैँ नसताऊ ।

Saturday, June 4, 2011

वैँश लागेर हो कि ??

रक्सी पिए झैँ मातेकी छौ वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

आफ्नो रुप आफैँ हेरी आफैँसँग लजाउँछौ
लुकीलुकी हेरी सधैँ आँखा तिमी जुधाउँछौ
सिङ्गार पटार साह्रै गर्छौ वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

कोही चाहे झैँ केही खोजे झैँ लाग्छ तिम्रो आँखा
बुझेर नि नबुझिने खै कस्तो अनौठो भाका
साह्रै सुन्दर देखिन्छौ अचेल वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

म प्यासी छु

म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।


तिम्रो अधर पिइरहूँ प्याला भरिभरी
यस्तो लाग्छ तिम्रो नजर चुमिरहूँ घरिघरी
पत्थरमा तिमी हिरा हौ सागरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।


मान्छे एक चाहना अनेक रुप थरीथरी
पुतलीझैँ झुम्मिएका छन् तिम्रै वरिपरी
तिमी स्वप्न सुन्दरी यो सहरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।