Tuesday, January 18, 2011

गढी डाँडा कट्नु छ

छामछाम छुमछुम
अँध्यारो रातमा
हातले हात समाउँदै
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै,

जून निदाएको रात
निन्द्रासँग लुकामारी गरेर मान्छेहरु
अर्धचेत भइरहेको समयमा
तिम्रो र मेरो
ईच्छा सगरमाथा चढ्न
मलाई मेरो घरमा
-"गगन",ए "गगन" उठ्ने बेला भएन ??
तिमीलाई तिम्रो घरमा
-"सविना",ए "सविना" कति सुतिरहेकी ??
यसले कसरी घर गरी खाली ?? भन्नु पूर्व नै
हातले हात समाउँदै
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै,

छोटो छ जीवन
यो छोटो जीवनमा जन्जीरले बाधिनु पर्छ भन्ने छ र ???
चाहे जे सुकै होस्
हाम्रो पूर्वजद्वारा लेखिएको ठेलीहरुमा
तिमी अछुतकी छोरी
म छुतको छोरा रे
हाम्रा पूर्वजहरुले भनेका
हामी सानै छँदा
अब त
हामी तरुनी तन्नेरी
र बुझ्ने भइसकेका छौ,

हामीलाई चढ्नु छ
ईच्छा सगरमाथा
नकाम गरी हजुर मेरी छोरीले
भन्नु भन्दा पहिले तिम्रो बाबुले,
कुलङ्गार जन्मिएछ गधा
मेरो नाकै काट्यो भन्नु भन्दा पहिले नै मेरो बाबुले
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै ।

Wednesday, December 22, 2010

डुबि जाने जून

के गुन गाउँ खै वैली झर्ने फूलको ।
के भर भयो अब डुबि जाने जूनको ।

देख्दा क्षितिजमा आश जागि आउँछ
धर्तीलाई पर्खाएर आफू भागि जान्छ
झुक्याएर हिड्ने यो कस्तो खेल हो ?
आँखा सधैँ वर्षा यामको भेल भयो ।

बसेको छौ आकाशको जूनतारा सँगै
बाँचेको छु म तिमी आउने दिन गन्दै
भन्देऊ बादल भेट्यौ भने आकाशलाई
पठाकोथेँ खबर मैले पापी बतासलाई ।

कुरी रहेँ

तिमी आउने बाटो हेर्दै दोबाटोमा कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

जाने बेला भनेकीथ्यौ देउरालीमा तिमी बस्नू
झिसमिसेमा भागी आउछु त्यही मलाई पख्नू
रातदिन बाटो हेर्दै बाटो तिम्रो कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

आउँदा-आउँदै गोरेटोमा बाटो कतै भुलियो कि ?
खेल्दा–खेल्दै कुरा मनमा मनै फेरियो कि ?
अनेक तर्क गर्दै मनमा बाटो तिम्रो कुरी रहेँ
छिया–छिया भाको मुटु यादले सधैँ पुरी रहेँ ।

मुटुभित्रै

मुटुभित्रै बसेकी छौ कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

कस्तो काँडा बिज्यो मनमा झिकूँ भन्दा झनै गड्छ
कस्तो माया रै’छ तिम्रो बिर्सू भन्दा झनै बढ्छ
ढुकढुकीमा छौ तिमी कसोगरी पराई भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

हाँसो खुशी दिन्छु भन्यौ तर मलाई लुटी गयौ
जीवनभरि मलाई रुवाई आफू भने खुशी भयौ
आफैँ भन्दा प्यारो लाग्छ कसोगरी जाली भनौ ??
पराईसँग गयौ तिमी कसोगरी आफ्नो मानौ ??

स्वर-तारा लक्षम
संगीत-नरहरि प्रेमी
एल्वम-मखमली चोली

गीत

सासै फेर्न गार्हो पारी किन दुख्छ छाति ???
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

कैले लाग्छ खाग बनाई मुटु जलाई दिउँ कि
हावासँगै उडाएर डाँडा कटाई दिउँ कि
न दिनमा हाँस्न सक्छु न त सुत्न राती
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

उडिरन्छ सधैँ किन ?? मन छैन थीरमा
हिड्दा-हिड्दै गोरेटोमा पुगेँ तारे भीरमा
राप बढ्दै मन भित्र किन दुख्छ छाती ?
नदेखिने घाउ कस्तो पोल्छ भतभती ।

Monday, September 13, 2010

कविता

बग्नुको अर्थ
समुन्द्रमा पुग्नु,
वाँच्नुको अर्थ मर्नु,
अब के फरक भयो
पानी म/हामीहरुमा ?
उस्तै–उस्तै
पानी जस्तै बगिरहेको छ जीवन
कुलुलु कुलुलुलुलुलुलुलुलुलुलुलुलुलुलु ,

फरक–
उकाली,
ओराली,
तेर्सो
हिडेर बग्छ जीवन
र ओरालो बगेर
बाँच्छ सधैँ पानी,

सगरमाथा
बिरुद्धमा
धावा बोलिरहेको छ
बुर्ज खालिफा
चढ्छ को ?
अब काला पत्थर ?
(जता ऐस उतै आराम
जता धन उतै मन),

सुन्छु अचेल
सहरतिर खुब मौलाएको छ रे
पर परबाट ल्याएको नासो संस्कृति,

सुदुररर क्षितिज पर
लादेनले निशाना बनायो
पेन्टागन
आफ्नो निधारमै
हान्दा पनि छेक्न सकेन संसार थेग्छु भन्नेले
अनि नाकै मुनि बसेको
रावणले किन चोरी औला नघुमाओस्
म/हामी रामापिथेकसहरुको अघि ?

पर्खी बस्छ बगर सधैँ

फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।

पीडाहरु उर्ली आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइन कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।

माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै'छ
तर्दा–तर्दै नदी बीच डुबि जाने नाउ रै'छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।

पठाकोछु लिन

लिन भनि पठाकोछु आउनू तिमी जूनसँगै
बाटोभरि बास्ना छर्दै मखमली फूलजस्तै ।

महिनौ भयो चिठी–पत्र,खबर नि नआएको
धेरै भयो खुशीयाली मेरो मनमा नछाएको
रातभरि जागै बस्छु तिमी आउने बाटो कुर्दै
कति दिन बसूँ अब आँखाबाट आँसु झार्दै ।

फर्कदैनौ परदेशबाट मलाई बिस्र्यौ कि त?
खबर ल्याउने जूनसँग कतै तस्र्यौ कि त ?
सबै भन्न थाले परदेशीको हुन्न केही भर
तिमीले पनि बिर्से पछि मेरो को नै छ र ?

खुसी छैन मन

हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो
बाँच्ने आधार छैन केही बरु मर्नै जाति भयो ।

बिश्वास माथि घात हुँदा कसोगरी मन बुझाऊँ
टुक्र–टुक्रा भाको मुटु खै के गरी भन सिलाऊँ
थोत्रो लुगा सम्झि मलाई बेवारिस फाली दियो
हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो ।

मन उड्छ टाढा–टाढा चुडिएको चङ्गाजस्तै
आँखाबाट खस्छ आँसु बग्छ सधैं गङ्गाजस्तै
जीवन मेरो घातै–घातको अलिखित कथा भयो
खाएका ती बाचाहरु दुखिरहने ब्यथा भयो ।