Saturday, March 20, 2010

गीत(पूर्णिमाको साँझ)

खुसी हुँदा हाँस्थ्यो जून पूर्णिमाको साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।

रिसाएझैँ गर्थिन् उनी धेरै माया गरी
जिस्किएर पर सर्थिन् जान्छु छाडी भनि
लुकीलुकी एकान्तमा भेट्रथ्यौ सधैँ साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।

शान्त हुन्थ्यो यो मन एकझुल्को हेर्न पाए
पुगिन्थ्यो कि स्वर्ग उसको काखमा मर्न पाए
अतितका पाना पल्टी रोएँ धेरै साँझ
दुई दिनको रै'छ प्रीति कथा भयो आज ।

Friday, March 19, 2010

(गीत)बरु मृत्यु सहुँला

तिमी टाढा हुँदा म कसरी बाँचुला
टाढा नजाऊ मार,बरु मृत्यु सहुँला ।

तिमीलाई मैले आफ्नै मुटु मानिसकेँ
जीवनसाथी तिमीलाई नै ठानिसकेँ
तिमी पराई हुँदा म कसरी बाँचुला
पराई नहोऊ मार,बरु मृत्यु सहुँला ।

तागत छैन ममा पराई भाको हेर्ने
ईच्छा मेरो एउटै तिम्रो सिउँदो भर्ने
दुःखसुख बाडी हामी सँगै बाँचुला
छाडी नजाऊ मार,बरु मृत्यु सहुँला ।

Saturday, March 13, 2010

रुन मन लाग्यो

फेरि आज उनलाई सम्झी रुन मन लाग्यो
छायाँ बनी उनकै नजिक हुन मन लाग्यो ।

पीडा सबै पग्लिएर रातमा मेरो निन्द्रा छैन
परदेशमा मेरो हजुर खाको छ कि छैन ?
महिना बित्यो बर्ष बित्यो खवर पाको छैन
रिसाएर हो कि कुन्नी सपनीमा आको छैन ।

भोलि–भोलि भन्दा–भन्दै जीवन बित्ने हो कि
हुलाकी दाइ खवर लगिदेऊ पर्खि राछ भनि
तृष्णा बढ्यो मनमा कस्तो छुन मन लाग्यो
फेरि आज उसकै यादमा रुन मन लाग्यो ।

Thursday, March 4, 2010

(गीत )तड्पाएर छाडी जाने

तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
किनारसँग मस्किएर बगी जाने नदी जस्तो ।

किन आउछु भन्नु त्यसै पर्खाई नआउनेले
झुटो कसम खानु किन माया नलाउनेले
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
पातसँग जिस्किएर बही जाने हावाजस्तो ।

सिङ्गो जीवन हाम्रो एउटै आधा तिम्रो मेरो आधी
किन भन्नु नहुनेले तिमी मेरो जीवन साथी
तड्पाएर छाडी जाने निष्ठुर तिम्रो वानी कस्तो
लठ्याएर भागी हिड्ने सुवास त्यो फूलको जस्तो ।