Friday, December 2, 2011

गीत

धेरै पछि गाउँ फिरें सानु बिर्सेछ गाउँघरले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

गुराँस फुल्ने हरियो जंगल उजाड भएछ
गाई गोठ राख्ने शिखरे दमार पहिरोले लगेछ
कहिले आयौ शहरबाट सोधेनन् कसैले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

सुखी दिनको सपना साँचेर छोडियो घर देश
सोचेको जस्तो नहुँदो रैछ पराईको देश
घरको ढिडो गुन्द्रुक सम्झे आएँ म त्यसैले
आफ्नै ठाउँमा भएँ म नौलो चिनेन् कसैले ।

स्वर-प्रमोद खरेल
संगीत-टिका भन्डारी

Saturday, June 18, 2011

टेक्छौ हामी एउटै धर्ती

टेक्छौ हामी एउटै धर्ती ओढ्छौ एउटै आकाश
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

भोक लाग्दा खाने हात हिंड्ने खुट्टा एकै
सबै हामी बराबरी हाम्रो पुर्खा एउटै
फूलको रुप अनेक हुन्छ छर्छ उस्तै सुबास
हामीले देख्ने तारा एउटै जूनले छर्ने प्रकाश ।

छाती भित्र मुटु चल्छ बग्छ रगत रातै
अनी किन भेदभाब गर्नु अन्त्य गरौ आजै
धनी होला कोही गरीब एउटै हाम्रो जात
एकजुट भई अघी बढौ मिलाएर हात ।

Saturday, June 11, 2011

जिन्दगीमा किन आउँछ

जिन्दगीमा किन आउँछ दुःख घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

पुग्नु पर्ने शिखरमा जाँदै थिएँ उँभोतिर
भुमरीमा पर्यो जीवन बग्दै गएँ उँधोतिर
सम्झी ल्याउँदा ब्यथा मनमा आउँछ भेल बनि
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

जति काट्छु दुःखको तार झन्झन् बढ्छ दुःख
मेरो भागमा छैन क्यारे यो जुनीमा सुख
जहाँ जान्छु त्यही आउँछ दशा घुमीघुमी
उराठ लाग्दो भयो मेरो छोटो जीवन पनि ।

संगीत-रोशन शाही
स्वर-महेश सेवा 

आँखाभरि आँसु बोकी

आँखाभरि आँसु बोकी कसरी म हाँसु
तस्वीर हेरी कसरी म यो दिल वसमा राखु ।

चिठीपत्र खबर पनि पठाउँदैनौ प्यारा
उराठ,उजाड लाग्छ सबै गाउँ वेंसी सारा
तड्पिएर सधैँभरि कसरी म बाँचु
तस्वीर हेरी कसरी म यो दिल वसमा राखु ।

आकाशको जून देख्दा तिम्रै झल्को आउँछ
फूल देख्दा यो मनमा तिम्रै सुवास छाउछ
पूर्णिमाको जूनसँग तिमी मलाई दाज्थ्यौ
मेरै निम्ति मन्दिर गई देवी देउता भाग्थ्यौ ।

Wednesday, June 8, 2011

खडेरीको वनजस्तो

जलि रै'छ मन मेरो खडेरीको वनजस्तो
अगेनाको ओदान भएँ बिधुवाको मनजस्तो ।

आगो बिनै जल्दो रै'छ पीडा भए मनभित्र
सबै भन्दा प्यारो लाग्ने के छ कुन्नी धनभित्र
मनको ढोका बन्द थियो तिमी आइ खोल्यौ
बाचा कसम पहिले गरी पछि आफैँ तोड्यौ ।

पिइ पिडा भुलौ भने छैन मेरो पिउने वानी
मनको आगो निभाउने पाइन मैले कतै पानी
जाने भए यादहरु सबै मेटी तिमी जाऊ
सपनीमा आइ तिमी मलाई सधैँ नसताऊ ।

Saturday, June 4, 2011

वैँश लागेर हो कि ??

रक्सी पिए झैँ मातेकी छौ वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

आफ्नो रुप आफैँ हेरी आफैँसँग लजाउँछौ
लुकीलुकी हेरी सधैँ आँखा तिमी जुधाउँछौ
सिङ्गार पटार साह्रै गर्छौ वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

कोही चाहे झैँ केही खोजे झैँ लाग्छ तिम्रो आँखा
बुझेर नि नबुझिने खै कस्तो अनौठो भाका
साह्रै सुन्दर देखिन्छौ अचेल वैँश लागेर हो कि ?
चन्चल छन् आँखा कतै भित्री भोक जागेर हो कि ?

म प्यासी छु

म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।


तिम्रो अधर पिइरहूँ प्याला भरिभरी
यस्तो लाग्छ तिम्रो नजर चुमिरहूँ घरिघरी
पत्थरमा तिमी हिरा हौ सागरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।


मान्छे एक चाहना अनेक रुप थरीथरी
पुतलीझैँ झुम्मिएका छन् तिम्रै वरिपरी
तिमी स्वप्न सुन्दरी यो सहरको
म प्यासी छु तिम्रो अधरको
म दासी भएँ तिम्रो नजरको ।

Sunday, May 22, 2011

मायाको चिनो दियौ

मायाको चिनो दियौ टिपी फूलको थुङ्गा
देउता मानी पुजेको थेँ रैछौ तिमी ढुङ्गा ।

फूल वैलाई झरिजान्छ नवैलिने माया
यस्तो लाग्थ्यो जिन्दगीमा नमैलिने माया
आखिर सबै झुटो रैछ माया भन्ने खेल
सत्य साँचो हुन्छ भन्थेँ हुँदो रैछ झेल ।

तिमीलाई नै मागेको छु भन्थ्यो देउतासँग
धनको पछि लाग्यो आज गयो अर्कैसँग
जीवनभरको साथ भन्थेँ छोटो रैछ माया
रुप सुन्दर भए पनि खाटो रैछ माया ।

Friday, May 20, 2011

गाँजल लाउँदा

परेलीमा गाँजल लाउँदा साह्रै राम्री देखेँ
तिमीलाई नै हेरि-हेरि प्रीति गीत लेखेँ ।

रसिलो त्यो अधर तिम्रो चुमुचुमु लाग्यो
भमराझैँ वरिपरी घुमुघुमु लाग्यो
सपनीमा आज तिमीलाई अप्सराझैँ देखेँ
तिमीलाई सम्झी-सम्झी प्रीति गीत लेखेँ ।

वोलाए झैँ लाग्यो मलाई तिमी नबोले नि
हँसिलो त्यो मुहार तिम्रो ओठै लखोले नि
पहिलोपल्ट तिमी जस्तो सुन्दर मान्छे देखेँ
तिमीलाई नै हेरि-हेरि प्रीति गीत लेखेँ ।

Tuesday, May 3, 2011

शुभकामना

मेरो शुभकामना छ तिमीलाई जन्मदिनको
पूरा होस् रहरहरु तिम्रा ईच्छा सबै मनको ।

युगौयुग बाँच्नू तिमी तिम्रो नाम अमर रहोस्
यस्तो काम गर्नू तिमी तिम्रो जन्म सार्थक बनोस्
दुनियाँले युगौयुग तिम्रो नामको कदर गरोस् ।

शिखर चुम्न तिम्रा पाइला सधैँ लम्किरहोस्
तिम्रो कृती संसारभर युगौयुग फैलिरहोस्
जूनताराझैँ तिम्रो नाम सधैँ सधैँ चम्किरहोस् ।

Tuesday, January 18, 2011

गढी डाँडा कट्नु छ

छामछाम छुमछुम
अँध्यारो रातमा
हातले हात समाउँदै
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै,

जून निदाएको रात
निन्द्रासँग लुकामारी गरेर मान्छेहरु
अर्धचेत भइरहेको समयमा
तिम्रो र मेरो
ईच्छा सगरमाथा चढ्न
मलाई मेरो घरमा
-"गगन",ए "गगन" उठ्ने बेला भएन ??
तिमीलाई तिम्रो घरमा
-"सविना",ए "सविना" कति सुतिरहेकी ??
यसले कसरी घर गरी खाली ?? भन्नु पूर्व नै
हातले हात समाउँदै
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै,

छोटो छ जीवन
यो छोटो जीवनमा जन्जीरले बाधिनु पर्छ भन्ने छ र ???
चाहे जे सुकै होस्
हाम्रो पूर्वजद्वारा लेखिएको ठेलीहरुमा
तिमी अछुतकी छोरी
म छुतको छोरा रे
हाम्रा पूर्वजहरुले भनेका
हामी सानै छँदा
अब त
हामी तरुनी तन्नेरी
र बुझ्ने भइसकेका छौ,

हामीलाई चढ्नु छ
ईच्छा सगरमाथा
नकाम गरी हजुर मेरी छोरीले
भन्नु भन्दा पहिले तिम्रो बाबुले,
कुलङ्गार जन्मिएछ गधा
मेरो नाकै काट्यो भन्नु भन्दा पहिले नै मेरो बाबुले
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै ।