Monday, September 13, 2010

कविता

बग्नुको अर्थ
समुन्द्रमा पुग्नु,
वाँच्नुको अर्थ मर्नु,
अब के फरक भयो
पानी म/हामीहरुमा ?
उस्तै–उस्तै
पानी जस्तै बगिरहेको छ जीवन
कुलुलु कुलुलुलुलुलुलुलुलुलुलुलुलुलुलु ,

फरक–
उकाली,
ओराली,
तेर्सो
हिडेर बग्छ जीवन
र ओरालो बगेर
बाँच्छ सधैँ पानी,

सगरमाथा
बिरुद्धमा
धावा बोलिरहेको छ
बुर्ज खालिफा
चढ्छ को ?
अब काला पत्थर ?
(जता ऐस उतै आराम
जता धन उतै मन),

सुन्छु अचेल
सहरतिर खुब मौलाएको छ रे
पर परबाट ल्याएको नासो संस्कृति,

सुदुररर क्षितिज पर
लादेनले निशाना बनायो
पेन्टागन
आफ्नो निधारमै
हान्दा पनि छेक्न सकेन संसार थेग्छु भन्नेले
अनि नाकै मुनि बसेको
रावणले किन चोरी औला नघुमाओस्
म/हामी रामापिथेकसहरुको अघि ?

पर्खी बस्छ बगर सधैँ

फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।

पीडाहरु उर्ली आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइन कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।

माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै'छ
तर्दा–तर्दै नदी बीच डुबि जाने नाउ रै'छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।

पठाकोछु लिन

लिन भनि पठाकोछु आउनू तिमी जूनसँगै
बाटोभरि बास्ना छर्दै मखमली फूलजस्तै ।

महिनौ भयो चिठी–पत्र,खबर नि नआएको
धेरै भयो खुशीयाली मेरो मनमा नछाएको
रातभरि जागै बस्छु तिमी आउने बाटो कुर्दै
कति दिन बसूँ अब आँखाबाट आँसु झार्दै ।

फर्कदैनौ परदेशबाट मलाई बिस्र्यौ कि त?
खबर ल्याउने जूनसँग कतै तस्र्यौ कि त ?
सबै भन्न थाले परदेशीको हुन्न केही भर
तिमीले पनि बिर्से पछि मेरो को नै छ र ?

खुसी छैन मन

हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो
बाँच्ने आधार छैन केही बरु मर्नै जाति भयो ।

बिश्वास माथि घात हुँदा कसोगरी मन बुझाऊँ
टुक्र–टुक्रा भाको मुटु खै के गरी भन सिलाऊँ
थोत्रो लुगा सम्झि मलाई बेवारिस फाली दियो
हाँसो खुसी छैन मनमा पीडा मेरो साथी भयो ।

मन उड्छ टाढा–टाढा चुडिएको चङ्गाजस्तै
आँखाबाट खस्छ आँसु बग्छ सधैं गङ्गाजस्तै
जीवन मेरो घातै–घातको अलिखित कथा भयो
खाएका ती बाचाहरु दुखिरहने ब्यथा भयो ।