Tuesday, January 18, 2011

गढी डाँडा कट्नु छ

छामछाम छुमछुम
अँध्यारो रातमा
हातले हात समाउँदै
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै,

जून निदाएको रात
निन्द्रासँग लुकामारी गरेर मान्छेहरु
अर्धचेत भइरहेको समयमा
तिम्रो र मेरो
ईच्छा सगरमाथा चढ्न
मलाई मेरो घरमा
-"गगन",ए "गगन" उठ्ने बेला भएन ??
तिमीलाई तिम्रो घरमा
-"सविना",ए "सविना" कति सुतिरहेकी ??
यसले कसरी घर गरी खाली ?? भन्नु पूर्व नै
हातले हात समाउँदै
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै,

छोटो छ जीवन
यो छोटो जीवनमा जन्जीरले बाधिनु पर्छ भन्ने छ र ???
चाहे जे सुकै होस्
हाम्रो पूर्वजद्वारा लेखिएको ठेलीहरुमा
तिमी अछुतकी छोरी
म छुतको छोरा रे
हाम्रा पूर्वजहरुले भनेका
हामी सानै छँदा
अब त
हामी तरुनी तन्नेरी
र बुझ्ने भइसकेका छौ,

हामीलाई चढ्नु छ
ईच्छा सगरमाथा
नकाम गरी हजुर मेरी छोरीले
भन्नु भन्दा पहिले तिम्रो बाबुले,
कुलङ्गार जन्मिएछ गधा
मेरो नाकै काट्यो भन्नु भन्दा पहिले नै मेरो बाबुले
गढी डाँडा कट्नु छ तिमी र म
भालेको डाक भन्दा अघि नै ।